21
जब नेगेवमा बस्‍ने आरादका कनानी राजाले इस्राएल अटारीमको बाटो भएर यात्रा गरिरहेको थियो भन्‍ने सुने, तिनले इस्राएलसँग लडाइँ लडे र केहीलाई बन्दी बनाए । इस्राएलले परमप्रभुसँग भाकल गरेर भने, “यदि तपाईंले हामीलाई यी मानिसहरूमाथि वजय दिनुभयो भने, हामी तिनीहरूका सहरहरूलाई पूर्ण रूपमा नष्‍ट पार्ने छौँ ।” परमप्रभुले इस्राएलको आवाज सुन्‍नुभयो र उहाँले कनानीहरूमाथि विजय दिनुभयो । तिनीहरूले तिनीहरूलाई र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे । त्यस ठाउँको नाउँ होर्मा राखियो । तिनीहरूले एदोमको भूमिलाई फेरो मारेर नर्कटको समुद्रको बाटो हुँदै होर पर्वतबाट गए । बाटोमा मानिसहरू अति निरुत्साहित भए । मानिसहरू परमेश्‍वर र मोशा विरुद्ध बोले, “मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो ? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं ।” परमप्रभुले मानिसहरू माझ विषालु सर्पहरू पठाइदिनुभयो । सर्पहरूले मानिसहरूलाई डसे, र धेरै मानिसहरू मरे । मानिसहरू मोशाकहाँ आएर भने, “हामीले पाप गरेका छौँ, किनभने हामीले परमप्रभु र तपाईंको विरुद्ध बोलेका छौँ । सर्पहरूलाई हामीबाट हटाउनलाई उहाँसँग बिन्ती गर्नुहोस् ।” यसैले मोशाले मानिसहरूका निम्ति प्रार्थना गरे । परमप्रभुले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बना र यसलाई खामामा झुण्ड्या । सर्पले डसेकाहरू ज-जसले यसलाई हेर्छन् तिनीहरू सबै बाँच्ने छन् ।” यसैले मोशाले काँसाको एउटा सर्प बनाए र त्यसलाई खामामा झुण्ड्याए । जब सर्पले कसैलाई डस्थ्यो, त्यसले काँसाको सर्पमा हरेमा त्यो बाँच्थ्यो । 10 त्यसपछि मानिसहरूले यात्रा गरे र ओबोतमा छाउनी लगाए । 11 तिनीहरू ओबोतबाट गए र मोआबको पूर्वतिर पर्ने इये-अबारीमको मरुभूमिमा छाउनी लगाए । 12 तिनीहरू त्यहाँबाट यात्रा गरे र जेरेदको बेँसीमा छाउनी लगाए । 13 तिनीहरूले त्यहाँबाट यात्रा गरे र अर्नोन खोलाको पारिपट्टि छाउनी लगाए, जुन मरुभूमिमा छ र एमोरीहरूको सिमानसम्म नै फैलिएको छ । अर्नोन खोलाले मोआब र एमोरीहरूबिच सिमानाको काम गर्छ । 14 त्यसैले परमप्रभुको युद्धको पुस्तकमा यस्तो लेखिएको छ, “सूपाको वाहेब र अर्ननोनका बेँसीहरू, 15 बेँसीका ओह्रालाहरू, जो आरको सहरतिर लाग्छन् र मोआबको सिमानसम्म पुग्छन् ।” 16 तिनीहरूले त्यहाँबाट बेओरसम्म यात्रा गरे । त्यो इनारमा परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिन्छु ।” 17 त्यसपछि इस्राएलले यो गीत गायो, “इनारको मूल फुटेर निस्क्यो ! यसको गीत गाओ, 18 हाम्रा अगुवाहरूले खनेका इनारबारे मानिसहरूका भारदारहरूले खनेका इनार, राजदण्ड र लहुराले खनेका इनार ।” 19 अनि तिनीहरू मरुभूमिबाट मत्तानातिर यात्रा गरे । मत्तानाबाट तिनीहरूले नहलीएलतिर यात्रा गरे र नहलीएलबाट बमोततिर, 20 र बमोतबाट मोआबको मैदानको बेसीँतिर यात्रा गरे । त्यहाँबाट नै पिसगा पर्वतको चुचुरोको फेदीमा मरुभूमी देखिन्छ । 21 त्यसपछि इस्राएलले एमोरी राजा सीहोनकहाँ यसो भन्‍दै समाचावाहक पठाए, 22 “हामीलाई तपाईंको मुलुक भएर जान दिनुहोस् । हामी खेत वा दाखबारी कतै पस्‍ने छैनौँ । हामी तपाईंका इनाहरूबाट पानी पिउने छैनौँ । हामी तपाईंको सिमाना पार नगरेसम्म राजमार्ग भएर मात्र यात्रा गर्छौं ।” 23 तर राजा सीहोनले तिनीहरूको सिमाना भएर जान इस्राएललाई अनुमति दिएनन् । बरु, सीहोनले तिनका सबै फौज जम्मा गरे र इस्राएललाई मरुभूमिमा आक्रमण गरे । तिनी यहाँसम्म आए, जहाँ तिनले इस्राएलसँग युद्ध गरे । 24 इस्राएलले सीहोनको फौजलाई तरवारले आक्रमण गरे र अर्नोनदेखि यब्बोक नदीसम्म साथै अम्मोनका मानिसहरूको भूमिसम्म कब्जा गरे । अम्‍मोनका मानिसहरूको सिमाना किल्लाबन्दी गरिएको थियो । 25 इस्राएलले हेश्बोन र यसका सबै गाउँसहित एमोरी सहरहरू कब्जा गरे र तिनीहरू सबैमा बसोबास गरे । 26 हेश्बोन एमोरी राजा सीहोनको सहर थियो, जसले मोआबका पहिलेको राजासँग युद्ध गरेका थिए । सीहोनले अर्नोन नदीसम्म उनको देश कब्जा गरेका थिए । 27 यसकारण यसो भनिन्छ, “हेश्बोनमा आओ । सीहोनको सहरको पुनर्निर्माण गरियोस् र फेरि स्थापित होस् । 28 हेश्बोनबाट आगोको ज्वाला दन्क्यो, सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई र अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो । 29 हे मोआब, तँलाई धिक्‍कार छ! हे कमोशको प्रजा, तँ नष्‍ट भएको छस् । त्यसले आफ्ना छोराहरूलाई भगुवाहरू बनायो र त्यसका छोरीहरूलाई एमोरीहरूका राजा सीहोनको कैदी बनायो । 30 तर हामीले सीहोनलाई जितेका छौँ । हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको छ । हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ । 31 त्यसैले इस्राएल एमोरीहरूका मुलुकमा बस्‍न थाल्यो । 32 अनि मोशाले याजेरको भेद लिन मानिसहरू पठाए । तिनीहरूले यसका गाउँहरू कब्जा गरे र त्यहाँ भएका एमोरीहरूलाई धपाए । 33 त्यसपछि तिनीहरू फर्के र बाशानको बाटोतिर उक्ले । बाशानका राजा ओग तिनीहरू विरुद्ध निस्के, तिनी र तिनका फौजले एद्रईमा तिनीहरूसँग लडे । 34 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु । त्यसलाई पनि हेश्बोनमा बस्‍ने एमोरी राजा सीहोनलाई गरेझैँ गर् ।” 35 त्यसैले तिनीहरूले कुनै पनि मानिस जीवित नरहुञ्‍जेल उनी, उनका छोराहरू र उनका सबै फौजलाई मारे । अनि तिनीहरूले उनको भूमि कब्‍जा गरे ।