23
बालामले बालाकलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदी निर्माण गर्नुहोस्, र सातवटा साँढे र सातवटा भेडा तयार पार्नुहोस् । बालाकले बालामले भनेजस्तै गरे । अनि बालाक र बालामले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए । अनि बालामले बालाकलाई भने, “तपाईं आफ्‍नो बलिदानको छेउमा खडा हुनुहोस् र म जाने छु । सायद परमप्रभु मलाई भेट्न आउनुहुने छ । उहाँले मलाई जे देखाउनुहुन्छ, सो म गर्ने छु ।” त्यसैले तिनी कुनै रुख नभएको पहडाको चुचुरोतिर गए । तिनी पहाडको टुप्पोमा हुँदा परमेश्‍वरले तिनलाई भेट्नुभयो र बालामले उहाँलाई भने, “मैले सातवटा वेदी बनाएको छु र मैले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाएको छु ।” परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो र भन्‍नुभयो, “बालाककहाँ फर्केर जा र त्यसलाई भन् ।” त्यसैले बालाम बालाककहाँ फर्के, जो आफ्‍नो बलिदानको छेउमा उभिरहेका थिए र मोआबका सबै अगुवा तिनीसँग थिए । बालामले अगमवाणी कहन थाले र भने, “मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् । तिनले भने, 'आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस् ।' परमेश्‍वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु ? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु ? म तिनलाई पहाडको चुचुरोबाट देख्छु; म तिनलाई पहाडबाट हेर्छु । हेर्नुहोस्, एक्लै बस्‍ने मानिसहरू र आफूलाई साधारण जातिको रूपमा ठान्दैनन् । 10 याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्‍न सक्छ ? मेरो मरण धार्मिक व्यक्‍तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस् !” 11 बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभएको ? मेरा शत्रुहरूलाई सराप दिनुहोस् भनी मैले तपाईंलाई ल्याएँ, तर हे्र्नुहोस्, तपाईंले त तिनीहरूलाई आशिष् दिनुभयो ।” 12 बालामले जवाफ दिए र भने, “के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्‍न म सावधान हुनुपर्दैन र ?” 13 बालाकले तिनलाई भने, “कृपया मसँग अर्को ठाउँमा आउनुहोस् जहाँबाट तपाईंले तिनीहरूलाई देख्‍न सक्‍नुहुन्छ । तपाईंले तिनीहरूलाई नजिकको मात्र देख्‍नुहुने छ, तर तिनीहरू सबैलाई देख्‍नुहुने छैन । तपाईंले तिनीहरूलाई त्यहाँबाट सराप दिनुहुने छ ।” 14 त्यसैले तिनले बालामलाई सोफीमको मैदानमा भएको पिसगाको टाकुरामा लगे, र अरू सातवटा वेदी बनाए । तिनले हरेकमा एउटा-एउटा साँढे र भेडा बलि चढाए । 15 त्यसपछि बालामले बालाकलाई भने, “यहीँ नै तपाईंको बलिदानको छेउमा उभिनुहोस्, म परमप्रभुलाई भेट्न जान्छु ।” 16 त्यसैले परमप्रभुले बालामलाई भेट्नुभयो र तिनको मुखमा सन्देश हालिदिनुभयो । तिनले भने, “बालाककहाँ जा र तिनलाई मेरो सन्देश दे ।” 17 बालाम तिनीकहाँ फर्केर आए र तिनी आफ्नो होमबलिको छेउमा उभिरहेका थिए र मोआबका अगुवाहरू तिनीसँग थिए । अनि बालाकले तिनलाई भने, “परमप्रभुले के भन्‍नुभयो ?” 18 बालामले अगमवाणी गर्न थाले, “उठ् बालाक र सुन् । हे सिप्पोरका छोरा मेरो कुरा सुन् । 19 परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र ? 20 हेर्नुहोस्, आशिष् दिने आज्ञा मलाई दिइएको छ । परमेश्‍वरले आशिष् दिनुभएको छ र म यसलाई उल्टाउन सक्दिनँ । 21 उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्‍ट देख्‍नुभएको छैन । परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ । 22 परमेश्‍वरले तिनीहरूलाई जङ्गली गोरुको जस्तै शक्‍तिले मिश्रबाट ल्याउनुभयो । 23 याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्‍याउँदैन । बरु, याकूब र इस्राएलबारे यसो भन्‍नुपर्छ, 'हेर, परमेश्‍वरले के गर्नुभएको छ !' 24 हेर, मानिसहरू सिंहनीजस्तै उठ्छन्, सिंहजस्तै उठ्छन् र आक्रमण गर्छन् । त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन ।” 25 त्यसपछि बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप नदिनुहोस् वा आशिष् पनि नदिनुहोस् ।” 26 तर बालामले जवाफ दिए र भने, “के परमप्रभुले भन्‍नलाई बताउनुभएको कुरा मात्र मैले भन्‍नुपर्छ भनी मैले भनेको थिइनँ र ?” 27 त्यसैले बालाकले बालामलाई जावाफ दिए, “अब आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजान्छु । सायद त्यहाँबाट मेरो निम्ति तिनीहरूलाई सराप दिन परमेश्‍वरले इच्छा गर्नुहुने छ ।” 28 त्यसैले बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट तल मरुभूमि देखिन्छ । 29 बालामले बालाकलाई भने, “यहाँ सातवटा वेदी बनाउनुहोस् अनि सातवटा साँढे र भेडा तयार पार्नुहोस् ।” 30 बालाकले बालामले भनेबमोजिम गरे; तिनले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।