27
योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा । तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु खडा भए । तिनीहरूले भने, “हाम्रा बुबा मरुभूमिमा मरे । तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् । तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन् । तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बिचबाट किन निर्मूल गर्ने ? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्‍गा दिनुहोस् ।” त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए । परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्‍चय गर्नुपर्छ । तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ । यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ । 10 यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ । 11 यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।” 12 परमप्रभुले मोशालाई भन्‍नुभयो, “अबारीम पर्वतमाथि जा र मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर् । 13 तैँले यसलाई हेरेपछि तँ पनि तेरा दाजु हारूनजस्तै तेरा मानिसहरूकहाँ जानुपर्छ । 14 तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो । 15 त्यसपछि मोशाले परमप्रभुलाई भने, 16 “हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्‍वर, समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नुहोस्, 17 एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।” 18 परमप्रभुले मोशालाई भन्‍नुभयो, “नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ र त्यसमाथि तेरो हात राख् । 19 त्यसलाई पुजारी एलाजार र सबै समुदाय सामु राख् र तिनीहरूको सामुन्‍ने नै तिनीहरूलाई नेतृत्व गर्न त्यसलाई आज्ञा दे । 20 तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् । 21 त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने छ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् र भित्र आउने छन् ।” 22 त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे । तिनले यहोशूलाई लिए र पुजारी एलाजार र सारा समुदायको सामु राखे । 23 तिनले उनीमाथि आफ्ना हात राखे र परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए ।