3
यो परमप्रभु सीनै पर्वतमाथि मोशासँग बोल्नुहुँदा हारून र मोशाका सन्तानहरूको इतिहास हो । हारूनका छोराका नाउँहरू यिनै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार थिए । हारून पुजारीका छोराहरूका नाउँहरू यिनै हुन् जसलाई पुजारीको रूपमा अभिषेक गरिएको थियो र पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरिएका थिए । तर नादाब र अबीहूले सीनै पर्वतमा अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा तिनीहरू उहाँको सामु मरे । नादाब र अबीहूका कुनै छोराछोरी थिएन । यसैले एलाजार र ईतामारले तिनीहरूका बुबा हारूनसँग पुजारीको रूपमा सेवा गरे । परमप्रभुले मोशालाई भन्‍नुभयो, “लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् । तिनीहरूले भेट हुने पालको सामु हारून र सारा समुदायको तर्फबाट दायित्वहरू पुरा गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्नुपर्छ । तिनीहरूले भेट हुने पालका सबै सरसामानको हेरचाह गर्नुपर्छ र तिनीहरूले पवित्र वासस्थानको सेवा वहन गर्न इस्राएलका कुलहरूलाई सहायता गर्नुपर्छ । तैँले लेवीहरू हारून र तिनका छोराहरूलाई दिनुपर्छ । इस्राएलका मानिसहरूलाई सेवा गर्न तिनलाई सहायता गर्न तिनीहरूलाई पूर्ण रूपमा सुम्पिएका छन् । 10 तैँले हारून र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्नुपर्छ र नजिक आउने कुनै पनि मानिसलाई मार्नुपर्छ ।” 11 परमप्रभुले मोशालाई भन्‍नुभयो, 12 “हेर्, मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट लिएको छु । मैले यो इस्राएलका मानिसहरूका जेठा छोराहरूको सट्टा लिएको छु । लेवीहरू मेरा हुन् । 13 पहिले जन्मेका सबै मेरा हुन् । मैले मिश्र देशमा पहिले जन्मेकाहरूलाई आक्रमण गरेको दिन नै इस्राएलका मानिस र पशुहरू दुवैको पहिले जन्मेका सबैलाई मेरो निम्ति अलग गरेँ । तिनीहरू मेरा हुन् । म परमप्रभु हुँ ।” 14 परमप्रभुले सीनैको मरुभूमिमा मोशालाई भन्‍नुभयो, 15 “लेवीका हरेक कुल र परिवार-परिवारअनुसार गन्ती गर् । एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गर् । 16 मोशाले परमप्रभुको वचनअनुसार उहाँले आज्ञा गर्नुभएबमोजिम तिनीहरूको गन्ती गरे । 17 लेवीका छोराहरूका नाउँहरू गेर्शोन, कहात र मरारी थिए । 18 गेर्शोनका छोराहरूबाटका वंशहरू लिब्‍नी र शिमी थिए । 19 कहातका छोराहरूबाटका वंशहरू अम्राम, यिसहार, हिब्रोन र उज्‍जीएल थिए । 20 मरारीका छोराहरूबाटका वंशहरू महली र मूशी थिए । कुल-कुलअनुसारका लेवीका कुलहरू यिनै हुन् । 21 लिब्‍नी र शिमीका कुलहरू गेर्शोनबाट आउँछ । गेर्शोनीहरूका कुलहरू यिनै हुन् । 22 एक महिना र त्यसभन्दा माथिका गनिएका सबै पुरुष जम्मा ७,५०० थिए । 23 गेर्शोनीहरूका कुलहरूले पवित्र वासस्थानको पश्‍चिमपट्टि छाउनी लगाउनू । 24 लाएलका छोरा एल्यासापले गेर्शोनीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ । 25 गेर्शोनको परिवारले पवित्र वासस्थानलगायत भेट हुने पालको हेरचाह गर्नुपर्छ । तिनीहरूले पाल, यसको छत र भेट हुने पालको प्रवेश-द्वारको रूपमा प्रयोग गरिएको पर्दाको देखरेख गर्नुपर्छ । 26 तिनीहरूले चोकका पर्दाहरू अनि पवित्र वासस्थान र वेदी वरिपरिका पर्दाहरूको देखरेख गर्नुपर्छ । तिनीहरूले भेट हुने पाल र यसमा भएका सबै थोकको देखरेख गर्नुपर्छ । 27 यिनीहरू कहातका कुलहरू हुन्ः अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्‍जीएलीहरूका कुल । यिनीहरू कहाती कुलका हुन् । 28 परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए । 29 कहातका कुलहरूले पवित्र वासस्थानको दक्षिणतिर छाउनी लगाउनू । 30 उज्‍जीएलका छोरा एलीजापानले कहातीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ । 31 तिनीहरूले सन्दूक, टेबुल, सामदान, वेदीहरू, तिनीहरूका सेवामा प्रयोग गरिने पवित्र थोकहरू, पर्दा र यससम्बन्धी सबै कामको देखरेख गर्नुपर्छ । 32 पुजारी हारूनका छोरा एलाजारले लेवीहरूको नेतृत्व गर्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिनले पवित्र स्थानको देखरेख गर्ने पुरुषहरूको पर्यवेक्षण गर्नुपर्छ । 33 मरारीबाट दुईवटा कुल आएका छन्ः महलीहरूका कुल र मूशीहरूका कुल । यी कुलहरू मरारीबाट आएका हुन् । 34 एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए । 35 अबीहेलका छोरा सूरीएलले मरारी कुलको नेतृत्व गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानको उत्तरतिर छाउनी लाउनुपर्छ । 36 मरारीका सन्तानहरूले पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू, सबै सरसमान र तिनीहरूसँग सम्बन्धित सबै थोक, साथै 37 चोकका वरिपरिका खामाहरू, आधारहरू, किलाहरू र सोरीहरूको देखरेख गर्नुपर्छ । 38 मोशा, हारून र तिनका छोराहरूले पवित्र वासस्थानको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनुर्छ । तिनीहरू पवित्र स्थानको कर्तव्यहरू र इस्राएलका मानिसहरूका कर्तव्यहरू पुरा गर्न उत्तरदायी छन् । यसको नजिक आउने अन्य कुनै पनि व्यक्‍ति मारियोस् । 39 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले लेवीका कुल एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गरे । तिनीहरूले बाइस हजार पुरुषहरू गन्ती गरे । 40 परमप्रभुले मोशालाई भन्‍नुभयो, “एक महिना र त्यसभन्दा माथिका इस्राएलका मानिसहरूका सबै पहिले जन्मेका पुरुषहरूको गन्ती गर् । तिनीहरूका नाउँको सूची बना । 41 म परमप्रभु हुँ, तैँले मेरो निम्ति लेवीहरूलाई इस्राएलका मानिसहरूको पहिले जन्मेकाहरूको सट्टामा र इस्राएलका सन्तानहरूका गाईवस्तुहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई लिनुपर्छ ।” 42 परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले इस्राएलका सबै जेठा-जेठाको गन्ती गरे । 43 तिनले एक महिना र त्यसभन्दा माथिका सबै जेठा छोराहरूको गन्ती गरे । 44 तिनले गन्ती गरेका पुरुषको सङ्ख्या २२,२७३ थियो । फेरि, परमप्रभुले मोशालाई भन्‍नुभयो, 45 “इस्राएलका मानिसहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूलाई ले र मानिसहरूका गाईवस्तुहरूका सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई ले । 46 म परमप्रभु हुँ, लेवीहरू मेरा हुन् । लेवीहरूको सङ्ख्याभन्दा बढी भएका २७३ जना पहिले जन्मेकाहरूका हरेकको निम्ति तैँले पाँच-पाँच शेकेल लिनुपर्छ । 47 तैँले तेरो मापदण्डको रूपमा पवित्र स्थानको शेकेल नै प्रयोग गर्नुपर्छ । एक शकेलको बिस गेरा हुन्छ । 48 त्यो छुटकाराको मूल्य तैँले हारून र तिनका छोराहरूलाई दिनुपर्छ ।” 49 यसैले लेवीहरूद्वारा छुटकारा पाएका सङ्ख्याभन्दा धेरै भएकाहरूबाट मोशाले छुटकाराको मूल्य जम्मा गरे । 50 मोशाले इस्राएलको पहिले जन्मेकाहरूबाट पैसा उठाए । तिनले पवित्र स्थनाको शेकेलअनुसार १,३६५ शेकेल उठाए । 51 मोशाले त्यो छुटकाराको मूल्य हारून र तिनका छोराहरूलाई दिए । परमप्रभुले उहाँको वचनद्वारा आज्ञा गर्नुभएबमोजिम मोशाले सबै थोक गरे ।