35
परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो, “इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्‍नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ । लेवीहरूले बस्‍नलाई यी सहरहरू पाउने छन् । तिनीहरूका गाईवस्तुहरू, भेडा-बाख्राहरू र तिनीहरूका सबै जनावरका निम्ति खर्क हुने छ । तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक-एक हजार हातसम्म फैलिएको हुने छ । तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्‍चिमपट्टि दुई हजार हात र उत्तरपट्टि दुई हजार हात नाप्‍नुपर्छ । यो तिनीहरूका निम्ति खर्कहरू हुने छ । सहरचाहिँ बिचमा हुने छ । तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटाले शरण-नगरहरूको काम गर्नुपर्छ । तिमीहरूले दिएका यी ठाउँहरूले कुनै मानिसलाई मार्ने व्यक्‍ति भाग्‍न सक्‍ने ठाउँ हुनुपर्छ । बयालिसवटा सहर पनि दिनू । तिमीहरूले लेवीहरूलाई दिने सहरहरू जम्‍मा अठचालिसवटा हुने छ । तिमीहरूले तिनीहरूलाई तिनीहरूका खर्कहरूसहित दिनुपर्छ । इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्‍त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ । त्यसपछि परमप्रभु मोशासँग बोल्नुभयो, 10 “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको भूमिमा प्रवेश गर्छौ, 11 तिमीहरूले तिमीहरूको निम्ति शरण-नगरको काम गर्ने सहरहरू चुन्‍नुपर्छ, जसमा कसैलाई अजानमा मारेको व्यक्‍ति त्यो ठाउँमा भागेर जान सक्छ । 12 यी सहरहरू बदला लिने व्यक्‍तिबाट बाँच्‍ने तिमीहरूको शरण-नगर हुनुपर्छ, ताकि दोष लगाइएको व्यक्‍ति समुदायको सामु न्यायको लागि खडा हुनअगि नमारियोस् । 13 तिमीहरूले छवटा सहरलाई शरण-नगरको रूपमा छान्‍नुपर्छ । 14 तिमीहरूले यर्दनपारि तिनवटा सहर र कनानको भूमिमा तिनवटा सहर दिनुपर्छ । ती शरण-नगर हुने छन् । 15 यी छवटा सहरले इस्राएलका मानिसहरूका निम्ति, परदेशीहरूका निम्ति र तिमीहरूमाझ बसोबास गर्ने जो कोहीको निम्ति एउटा शरणको काम गर्नेछ, जसमा कसैलाई अजानमा मार्ने व्यक्‍ति भागेर जान सक्छ । 16 तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ । 17 यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, त्यो दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ । 18 यदि दोष लगाइएको व्यक्‍तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ । 19 रगतको बदला लिने व्यक्‍तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्‍तिले त्यसलाई मार्नुपर्छ । 20 यदि त्यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने र आक्रमण गरिएको व्यक्‍ति मर्छ भने, 21 वा यदि त्यसले घृणा गरेको व्यक्‍तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्‍ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्‍तिले त्यसलाई भेट्दा मार्न सक्छ । 22 तर यदि दोष लगाइएको व्यक्‍तिले पूर्वघृणाविना अचानक कुनै कुरा फ्याँक्दा ढुकेर नबसी नै आक्रमणमा परेको व्यक्‍तिलाई लाग्यो भने, 23 वा यदि त्यसले आक्रमणमा परेका व्यक्‍तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्‍ति दोष लगाइएको व्यक्‍तिको शत्रु होइन भने; त्यसले त्यसलाई चोट पुर्‍याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्‍ति मर्छ भने यसो गर्नुपर्छ । 24 त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्‍ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ । 25 समुदायले दोष लगाइएको व्यक्‍तिलाई रगतको बदला लिने व्यक्‍तिको शक्‍तिबाट छुटकारा दिनुपर्छ । समुदायले त्यो दोष लगाइएको व्यक्‍ति पहिले भागेर गएको शरण-नगरमा नै त्यसलाई फर्काउनुपर्छ । त्यो त्यस बेलाको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यहीँ नै बस्‍नुपर्छ, जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो । 26 तर यदि दोष लगाइएको व्यक्‍ति कुनै बखत त्यो भागेर गएको सहरको सिमानाबाहिर जान्छ, 27 र यदि रगतको बदला लिनेले त्यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्यसले त्यो दोष लगाइएको व्यक्‍तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्‍ति हत्याको दोषी हुने छैन । 28 किनभने त्यो दोष लागेको व्यक्‍ति प्रधान पुजारीको मृत्यु नभएसम्म त्यसको शरण-नगरभित्र नै बस्‍नु पर्थ्यो । प्रधान पुजारीको मृत्युपछि त्यो दोष लागेको व्यक्‍ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ । 29 यी नियमहरू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको विधिविधान हुनुपर्छ । 30 कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्‍तिलाई मार्नु हुदैन । 31 साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ । 32 शरण-नगरमा भागेर गएको व्यक्‍तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । यसरी प्रधान पुजारीको मृत्यु नभएसम्म तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन । 33 तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन । 34 त्यसैले तिमीहरू बसोबास गर्ने भूमिलाई तिमीहरूले अशुद्ध पार्नुहुँदैन, किनभने म यसमा बास गर्छु । म परमप्रभु इस्राएलका मानिसहरूमाझ बास गर्छु ।