9
तिनीहरू मिश्र देशबाट आएका दोस्रो वर्षको पहिलो महिनामा सीनै मरुभूमिमा परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका मानिसहरूले निस्तार-चाड यसको निर्धारित समयमा नै मानून् । यो महिनाको चौधौँ दिनको साँझ, तिमीहरूले निस्तार-चाडलाई यसको निर्धारित समयमा नै मान्‍नू । तिमीहरूले यसलाई पालन गर्नुपर्छ, यससँग सम्बन्धित सबै आदेशहरू पालन गर्नुपर्छ र सबै नियमहरू अनुसरण गर्नुपर्छ ।” यसैले मोशाले इस्राएलका मानिसहरूले निस्तार-चाडलाई मान्‍नुपर्छ भनी तिनीहरूलाई बताए । तिनीहरूले सीनैको मरुभूमिमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार-चाड मनाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरा इस्राएलका मानिसहरूले पालन गरे । मुर्दा छोएको कारण केही मानिसहरू अशुद्ध भएका थिए । तिनीहरूले त्यस दिन निस्तार-चाड मान्‍न सकेनन् । तिनीहरू त्यसै दिन मोशा र हारूनकहाँ गए । ती मानिसहरूले मोशालाई भने, “हामी मुर्दा छोएको कारण अशुद्ध भएका छौँ । इस्राएलका मानिसहरूमाझ निर्धारित समयमा नै परमप्रभुलाई बलिदान चढाउनबाट हामीलाई किन वञ्‍चित गर्नुहुन्छ ?” मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूबारे के भन्‍नुहुन्छ, म सुन्छु ।” परमप्रभुले मोशालाई भन्‍नुभयो, 10 “इस्राएलका मानिसहरूलाई भन् । 'यदि तिमीहरूमध्ये कोही मुर्दा छोएको कारण अशुद्ध छ वा लामो यात्रामा छ भने, त्यसले परमप्रभुको निस्तार-चाड अझै मान्‍न सक्छ ।' 11 तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझ निस्तार-चाड मान्‍नेछन् । तिनीहरूले निस्तार-चाडको थुमालाई अखमिरी रोटी र तितो सागसँग खानुपर्छ । 12 तिनीहरूले यसलाई बिहानसम्म राख्‍नुहुँदैन वा यसका हाडहरू भाँच्‍नुहुँदैन । तिनीहरूले निस्तार-चाडका सबै नियम पालन गर्नुपर्छ । 13 तर कुनै व्यक्‍ति शुद्ध छ र यात्रामा छैन, अनि निस्तार-चाड मान्दैन भने परमप्रभुले आज्ञा गर्नुभएको निर्धारित समयमा त्यसले बलिदान नचढाएकोले त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नुपर्छ । त्यस मानिसले आफ्नो पाप भोग्‍नुपर्छ । 14 यदि कुनै विदेशी तिमीहरूसँग बसोबास गर्छ र परमप्रभुको आदरमा निस्तार-चाड मान्‍छ भने, त्यसले यसलाई पालन गर्नुपर्छ र निस्तार-चाडका सबै नियम पालन गरेर उहाँले आज्ञा गर्नुभएका सबै थोक गर्नुपर्छ र यसको निम्ति सबै नियम पालन गर्नुपर्छ । विदेशी र स्वदेशी सबैको निम्ति उही नियम हुनुपर्छ ।” 15 पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो । साँझमा बादल पवित्र वासस्थानमाथि थियो । यो बिहानसम्म आगोजस्तो देखियो । 16 यो यसरी नै रहिरह्यो । बादलले पवित्र वासस्थान ढाक्यो र राती आगोजस्तो देखा पर्थ्यो । 17 जब-जब बादल पालबाट हट्थ्यो, इस्राएलका मानिसहरू आफ्नो यात्राको निम्ति अघि बढ्थे । जहाँ-जहाँ बादल रोकिन्थ्यो, त्यहाँ मानिसहरूले छाउनी लगाउँथे । 18 इस्राएलका मानिसहरू परमप्रभुको आज्ञामा नै यात्रा गर्थे र उहाँकै आज्ञामा छाउनी लगाउँथे । 19 बादल पवित्र वासस्थानमाथि रहँदा तिनीहरू रोकिन्थे, तिनीहरू छाउनीमा बस्थे । बादल पवित्र वासस्थानमाथि धेरै दिनसम्म रहँदा इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञा पालन गर्थे र यात्रा गर्दैनथे । 20 कहिले काहीँ बादल पवित्र वासस्थानमाथि केही दिन मात्र रहन्थ्यो । त्यस अवस्थामा तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्थे । तिनीहरूले छाउनी लगाउँथे र उहाँको आज्ञामा फेरि यात्रा गर्थे । 21 कहिले काहीँ बादल छाउनीमा साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो । बिहान बादल हट्दा तिनीहरूले यात्रा गर्थे । यदि बादल एक दिन वा एक रातको निम्ति मात्र रहेमा, बादल हट्दा मात्र तिनीहरूले यात्रा गर्थे । 22 बादल पवित्र वासस्थानमाथि दुई दिनको, एक महिना वा एक वर्षको निम्ति वा जति समयसम्म रहे पनि इस्राएलका मानिसहरू छाउनीमा रहन्थे र यात्रा गर्दैनथे । तर जब-जब बदल हट्थ्यो, तिनीहरूले यात्रा गर्थे । 23 तिनीहरूले परमप्रभुको आज्ञामा नै छाउनी लगाउँथे र तिनीहरूले उहाँको आज्ञामा नै यात्रा गर्थे । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा तिनीहरूले पालन गरे ।