4
प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी प्रिय, तिमी सुन्दरी छ्यौ । तिमी सुन्दरी छ्यौ । घुम्टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्ता छन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ । तिम्रा दाँत भरखरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथानजस्तै छन् । हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बिचमा कोही पनि एकलो छैन । तिम्रा ओठ सिन्दुरे रङको धागोजस्ता राता छन् । तिम्रो मुख मायालु छ । तिम्रा गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरूजस्ता छन् । तिम्रो घाँटी सिपाहीहरूका एक हजार ढाल झुण्ड्याइएको, पत्थरहरूको लहरमा निर्मित दाऊदको धरहराजस्तो छ । तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, लिलीहरूको बिचमा चर्ने हरिणका जुम्ल्याहा पाठाजस्ता छन् । बिहान भएर छाया नभागेसम्म म मूर्रको पहाड र धूपको डाँडामा उक्लने छु । हे मेरी प्रिय, तिमी हर क्षेत्रमा सुन्दरी छ्यौ, र तिमीमा कुनै खोट छैन । हे मेरी दुलही, लेबनानबाट आऊ । लेबनानबाट मसितै आऊ । अमानाको टाकुराबाट ओर्लेर आऊ; सेनीर र हेर्मोनको टाकुराबाट, सिंहहरूको ओडार र चितुवाहरूका पहाडी अखडाबाट आऊ । हे मेरी बहिनी, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छौ । एकै नजरले, तिम्रो हारको रत्‍नले तिमीले मेरो हृदय चोरेकी छौ । 10 हे मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा कति असल छ! कुनै पनि मसलाभन्दा तिम्रो अत्तरको बास्‍ना सुगन्धित छ । 11 हे मेरी दुलही, तिम्रा ओठले मह चुहाउँछन् । मह र दूध तिम्रो जिब्रोमूनि छन् । तिम्रो लुगाको बास्‍ना लेबनानको बास्‍नाझैँ छ । 12 हे मेरी बहिनी, मेरी दुलही बन्द गरिएको बगैँचाझैँ, छोपिएको फुहाराझैँ छिन् । 13 तिम्रा हाँगाहरू उत्तम फल फलाउने अनारका रुखहरू, मेहदी र जटामसीको कुञ्‍जझैँ, 14 जटामसी र केशर, बोझो र दालचिनीसाथै हर किसिमका मसलाहरू, मूर्र र एलावासाथै हर किसिमका सुगन्धित मसलाहरूको कुञ्‍जझैँ छन् । 15 तिमी त बगैँचाको फुहारा, ताजा पानीको इनार, लेबनानबाट बहने खोलाहरू हौ । प्रेमिका प्रेमीसित बोल्दैः 16 ए उत्तरी बतास, बिउँझी । ए दक्षिणी बतास, आइज । मेरो बगैँचाका मसलाहरूले आ-आफ्ना सुगन्ध फैलाउन सकून् भनेर यहाँबाट बह । मेरा प्रेमी उहाँको बगैँचामा आऊन्, र उसका उत्तम फलहरू खाऊन् ।