35
एदोमको विरुद्धमा अगमवाणी
1 याहवेहको यो वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, आफ्नो अनुहार सेइर पर्वततिर फर्का; त्यसको विरुद्धमा अगमवाणी गर्, 3 र त्यसलाई भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे सेइर पर्वत, म तेरो विरुद्धमा आफ्नो हात पसार्नेछु, र तँलाई उजाड पारिदिनेछु। 4 म तेरा सहरहरूलाई भग्नावशेष पारिदिनेछु, र तँ उजाड हुनेछस्। तब म नै याहवेह हुँ भनी तैँले जान्नेछस्।
5 “ ‘किनकि तैँले पुरानो शत्रुतालाई कायम राखिस्, र इस्राएलीहरूको विपत्तिको समयमा, अर्थात् तिनीहरूको दण्डको चरम विन्दुमा पुगेको समयमा, तिनीहरूलाई तरवारद्वारा मारिनलाई सुम्पिदिइस्; 6 यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्दछु, म तँलाई रक्तपातको निम्ति दिनेछु, र त्यसले तँलाई खेद्नेछ। तैँले रक्तपातलाई घृणा नगरेको कारण रक्तपातले तँलाई खेद्नेछ। 7 म सेइर पर्वतलाई उजाड मरुभूमि पारिदिनेछु; अनि त्यसबाट भएर आउने र जाने सबैलाई नाश गर्नेछु। 8 म तेरा पर्वतहरूलाई मारिएकाहरूले भरिदिनेछु; तरवारले मारिएकाहरू तेरा डाँडाहरू, तेरा बेँसीहरू र तेरा सबै खोल्साहरूमा ढल्नेछन्। 9 म तँलाई सदाको निम्ति उजाड पारिदिनेछु; तेरा सहरहरूमा कोही पनि बसोबास गर्नेछैनन्। तब तैँले म नै याहवेह हुँ भनी जान्नेछस्।
10 “ ‘म याहवेह त्यहाँ हुँदा-हुँदै पनि तैँले भनेको छस्, “यी दुई जातिहरू र देशहरू हाम्रा हुनेछन्; अनि हामी यी देशहरू अधिकार गर्नेछौँ,” 11 यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तैँले तिनीहरूप्रति आफ्नो घृणामा देखाएको रिस र डाहबमोजिम म तँसित व्यवहार गर्नेछु; अनि तेरो न्याय गर्दा म आफूलाई तिनीहरूको बीचमा चिनाउनेछु। 12 तब तैँले जान्नेछस्, कि म याहवेहले इस्राएलका पर्वतहरूको विरुद्धमा तैँले भनेका सबै घृणित कुराहरू सुनेको छु। तैँले भनिस्, “तिनीहरू उजाड पारिएका छन्, र हाम्रा भोजन हुनका निम्ति तिनीहरू सुम्पिएका छन्।” 13 तैँले मेरो विरुद्धमा घमण्ड गरेको छस्, र मेरो विरुद्धमा जथाभाबी बोलेको छस्, र मैले त्यो सुनेको छु। 14 प्रभु याहवेह यसो भन्नुहुन्छ: जब सारा पृथ्वी रमाउँछ, तब म तँलाई उजाड बनाउनेछु। 15 किनकि इस्राएलको उत्तराधिकार उजाड हुँदा तँ रमाइस्, म पनि तँसित त्यस्तै व्यवहार गर्नेछु। हे सेइर पर्वत, तँ र सम्पूर्ण एदोम उजाड हुनेछस्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”