36
इस्राएलका पर्वतहरूका निम्ति आशाको अगमवाणी
1 “हे मानिसको छोरा, इस्राएलका पर्वतहरूलाई अगमवाणी गरेर भन्, ‘हे इस्राएलका पर्वतहरू हो, याहवेहको यो वचन सुन्। 2 प्रभु याहवेह यसो भन्नुहुन्छ: शत्रुहरूले तँलाई भनेका छन्, “अहो! प्राचीन समयका अग्ला ठाउँहरू हाम्रा भएका छन्।” ’ 3 यसकारण अगमवाणी गरेर भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: किनकि तिनीहरूले तिमीहरूलाई चारैतिरबाट नष्ट गरेर लखेटे; यसरी तिमीहरू बाँकी रहेका जातिहरूका अधिकारमा पर्यौ र मानिसहरूका डाह र गिल्लाको पात्र भयौ। 4 यसकारण हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको यो वचन सुन: प्रभु याहवेह यसो भन्नुहुन्छ, तिमीहरूका चारैतिरका बाँकी रहेका देशहरूद्वारा डाह र गिल्ला गरिएका, लुटिएका, त्यागिएका सहरहरूलाई, पर्वतहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई र उजाड भग्नावशेषहरूलाई; 5 प्रभु याहवेह यसो भन्नुहुन्छ: मेरो बल्दो जोशमा बाँकी रहेका जातिहरूको विरुद्धमा र एदोमको विरुद्धमा मैले बोलेको छु; किनकि तिनीहरूका आफ्ना हृदयमा उल्लास र डाह लिएर तिनीहरूले मेरो देशलाई आफ्नो बनाए, ताकि तिनीहरूले त्यसका खर्कहरू लुट्न सकून्।’ 6 यसकारण इस्राएल देशको बारेमा अगमवाणी गरेर पर्वतहरू, डाँडाहरू, खोल्साहरू र बेँसीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म आफ्नो डाही क्रोधमा बोल्छु; किनकि तिमीहरूले जातिहरूको गिल्ला सहेका छौ। 7 यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म हात उठाएर शपथ खान्छु, निश्चय तिमीहरूका चारैतिरका जातिहरूले पनि गिल्ला सहनेछन्।
8 “ ‘तर हे इस्राएलका पर्वतहरू हो, तिमीहरूले मेरो प्रजा इस्राएलका निम्ति हाँगाहरू र फलहरू उत्पादन गर्नेछौ; किनकि तिनीहरू चाँडै घर फर्कनेछन्। 9 तिमीहरूका निम्ति म चिन्ता गर्छु, र तिमीहरूलाई निगाहको दृष्टिले हेर्नेछु; तिमीहरूको जमिन जोतिनेछ र बिउ छरिनेछ; 10 अनि म तिमीहरूका अर्थात् इस्राएलका सबै मानिसहरूका संख्या बढाइदिनेछु। सहरहरूमा फेरि मानिसहरू बसोबास गर्नेछन्, र भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्। 11 म तिमीहरूका मानिसहरू र घरेलु पशुहरूको संख्या बढाइदिनेछु; अनि तिनीहरू फलदायक भएर संख्यामा धेरै हुनेछन्। म विगतको समयमा झैँ इस्राएलका मानिसहरूलाई बसोबास गर्न दिनेछु; अनि तिमीहरूलाई पहिलेको भन्दा अझ बढी समृद्धि गराउनेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ। 12 म मानिसहरूलाई अर्थात् मेरा प्रजा इस्राएललाई तिमीहरूमाथि बसोबास गराउनेछु। तिनीहरूले तिमीहरूलाई अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूको उत्तराधिकार हुनेछौ; तिमीहरूले तिनीहरूका छोराछोरीहरूलाई फेरि कहिल्यै पनि खोसेर लानेछैनौ।
13 “ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: किनकि केही मानिसहरूले तिमीहरूलाई भन्छन्, “तिमीहरूले मानिसहरूलाई निल्छौ र आफ्ना जातिका मानिसहरूलाई तिनीहरूका सन्तानदेखि वञ्चित राख्छौ।” 14 यसकारण तिमीहरूले फेरि कहिल्यै पनि मानिसहरूलाई खानेछैनौ, र आफ्नो जातिलाई निःसन्तान बनाउनेछैनौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। 15 म तिमीहरूलाई फेरि पनि जाति-जातिहरूको गिल्ला सुन्न दिनेछैनँ; अनि तिमीहरूले फेरि पनि जाति-जातिहरूको निन्दा भोग्नुपर्नेछैन, अथवा तिमीहरूका जातिलाई फेरि पतन हुन दिनेछैनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
इस्राएलको पुनर्स्थापना सुनिश्चित
16 याहवेहको वचन फेरि मकहाँ आयो: 17 “हे मानिसको छोरा, जब इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै देशमा बसे, तिनीहरूले त्यसलाई आफ्ना चालहरू र कामहरूद्वारा अशुद्ध पारे। तिनीहरूका चाल मेरो दृष्टिमा स्त्रीको मासिक-स्रावको अशुद्धता जस्तै थियो। 18 यसकारण मैले मेरो क्रोध तिनीहरूमाथि खन्याइदिएँ; किनकि तिनीहरूले आफ्ना देशमा रगत बगाए, र तिनीहरूले आफ्ना मूर्तिहरूद्वारा त्यो देश अशुद्ध पारे। 19 मैले तिनीहरूलाई देशहरूको बीचमा छरपस्ट पारिदिएँ; मैले तिनीहरूका चालहरू र कामहरूअनुसार तिनीहरूको न्याय गरेँ। 20 अनि तिनीहरू जातिहरूका बीचमा जहाँ गए तापनि तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र पारे; किनकि तिनीहरूको बारेमा यसो भनिएको थियो, ‘यिनीहरू याहवेहका मानिसहरू हुन्, तर पनि यिनीहरूले उहाँको देश छोड्नुपर्यो।’ 21 मलाई मेरो पवित्र नामको वास्ता थियो, जसलाई इस्राएलका मानिसहरूले तिनीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारे।
22 “यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका खातिर मैले यी कुराहरू गर्न लागेको होइन, तर मेरो पवित्र नामको खातिर, जुन नाम तिमीहरू गएका जाति-जातिहरूका बीचमा तिमीहरूले अपवित्र पारेका छौ। 23 म मेरो महान् नामको पवित्रता देखाउनेछु, जुन जातिहरूका बीचमा अपवित्र तुल्याइएको छ, त्यो नाम जसलाई तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफूलाई तिमीहरूद्वारा तिनीहरूकै आँखाको सामु पवित्र प्रमाणित गर्नेछु, तब जाति-जातिहरूले म नै याहवेह हुँ भनी जान्नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
24 “ ‘किनकि म तिमीहरूलाई जाति-जातिहरूबाट बाहिर निकाल्नेछु; म तिमीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु। 25 तिमीहरूमाथि शुद्ध पानी छर्कनेछु; अनि तिमीहरू शुद्ध हुनेछौ; म तिमीहरूका सबै अशुद्धताहरूबाट र तिमीहरूका सबै मूर्तिहरूबाट तिमीहरूलाई शुद्ध पार्नेछु। 26 म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिमीहरूबाट तिमीहरूका ढुङ्गाका हृदय निकाल्नेछु र तिमीहरूलाई मासुको एउटा हृदय दिनेछु। 27 अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु; अनि तिमीहरूलाई मेरा उर्दीहरूमा हिँड्ने र मेरा नियमहरू होसियारीसाथ पालन गर्ने तुल्याउनेछु। 28 तब मैले तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्नेछौ; तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु। 29 म तिमीहरूलाई तिमीहरूका सबै अशुद्धताबाट बचाउनेछु। म अन्नलाई धेरै फल्न लगाउनेछु, र तिमीहरूमाथि अनिकाल ल्याउनेछैनँ। 30 म रूखहरूका फलहरू र खेतका अन्नहरू वृद्धि गराउनेछु, ताकि अनिकालको कारण जातिहरूका बीचमा तिमीहरूले फेरि पनि अपमान सहनु नपरोस्। 31 तब तिमीहरूले आफ्ना दुष्ट चालहरू र दुष्ट कामहरू सम्झनेछौ; अनि तिमीहरू आफैँले आफ्ना पापहरू र घिनलाग्दा कामहरूका निम्ति आफैँलाई घृणा गर्नेछौ। 32 मैले यो कुरा तिमीहरूको खातिर गरिरहेको छैनँ भन्ने कुरा तिमीहरूले जान्न सक भन्ने म चाहन्छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हे इस्राएलका मानिसहरू हो, आफ्ना चालचलनहरूका निम्ति शर्ममा पर, र लज्जित होओ!
33 “ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जुन दिन म तिमीहरूलाई तिमीहरूका पापहरूबाट शुद्ध पार्छु, म तिमीहरूका सहरहरूलाई फेरि बसोबास गराउनेछु; अनि भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्। 34 बाटो हिँडनेहरूको नजरमा यो जमिन उजाड रहनुको सट्टा फेरि अन्न उमार्नलाई खनजोत गरिनेछ। 35 तिनीहरूले भन्नेछन्, “यो उजाड भएर लडिरहेको जमिन अदनको बगैँचाजस्तै भएको छ; भग्नावशेष अवस्थामा भएका, उजाड र सर्वनाश गरिएको अवस्थामा लडिरहेका सहरहरू अहिले सुरक्षित र बसोबास गरिएका छन्।” 36 तब तिमीहरूका चारैतिर रहेका जातिहरूले थाहा पाउनेछन्, कि म याहवेहले नै भत्काइएका ठाउँहरूलाई पुनर्निर्माण गरेको हुँ; अनि उजाड भएको जमिनलाई फेरि उर्वर भूमिमा पुनर्स्थापित गरिदिएको हुँ। म याहवेहले बोलेको हुँ, अनि म यो गर्ने नै छु।’
37 “प्रभु याहवेह यसो भन्नुहुन्छ: “म फेरि एक पटक इस्राएलका मानिसहरूको बिन्ती सुन्नेछु, र तिनीहरूका निम्ति यो गर्नेछु: म तिनीहरूका मानिसहरूलाई भेडाहरूजस्तै संख्यामा धेरै बढाइदिनेछु; 38 तोकिएका चाडहरूको समयमा भेटीको रूपमा यरूशलेममा ल्याइएका बगालहरूजस्तै संख्यामा धेरै बढाउनेछु। यसरी भग्नावशेष अवस्थामा रहेका सहरहरू मानिसहरूका भीडले भरिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”