38
हिजकिया बिरामी परेका
ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे।आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्; किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”
हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे, “हे याहवेह, म तपाईंको सामु कसरी विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्‍टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” अनि हिजकिया धुरुधुरु रोए।
तब याहवेहको वचन यशैयाकहाँ आयो: “जा, र हिजकियालाई भन्, ‘याहवेह तेरा पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु, र तेरो आँसु देखेको छु; म तेरो आयुमा अरू पन्ध्र वर्ष थपिदिनेछु। अनि तँ र यस सहरलाई अश्शूरको राजाको हातबाट म छुटकारा दिनेछु, र यस सहरको रक्षा गर्नेछु।
“ ‘याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, सो गर्नुहुनेछ भन्‍ने तेरा निम्ति याहवेहबाट यो चिन्ह हुनेछ: म आहाजको सिँढीमा तल गएको घामले बनाएको छायालाई दश कदम पछि सारिदिनेछु।’ ” यसकारण तल गएको घामको छाया दश कदम पछि सर्‍यो।
 
आफ्नो बिमार निको भएपछि यहूदाका राजा हिजकियाले लेखे:
10 मैले भनेँ, “मेरो जीवनको बीचमा
के म मृत्युको मूलढोकाबाट भएर जानुपर्छ,
र मेरा बाँकी वर्षहरू मबाट खोसिनेछ?”
11 मैले भनेँ, “म फेरि जीवितहरूको देशमा
याहवेहलाई देख्नेछैनँ,
अब उसो मानव-जातिलाई देख्नेछैनँ,
वा अहिले यस संसारमा रहनेहरूसित हुनेछु।
12 मेरो घर गोठालाको पालझैँ
उखेलिएर मबाट लगिएको छ।
तान बुन्‍नेले झैँ मैले आफ्नो जीवनलाई बेह्रेको छु,
र उहाँले मलाई तानबाट काटिदिनुभएको छ;
दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।
13 मैले बिहानसम्म धैर्यसाथ पर्खेँ,
तर सिंहले झैँ मेरा सबै हाडहरू उहाँले भाँचिदिनुभयो;
दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।
14 म गौँथली वा सारसझैँ चिरबिर कराएँ;
मैले विलाप गर्ने ढुकुरझैँ विलाप गरेँ।
स्वर्गतिर हेर्दा मेरा आँखा कमजोर भए।
म खतरामा छु; हे प्रभु, मेरा सहायताको निम्ति आउनुहोस्!”
 
15 तर म के भन्‍न सक्छु र?
उहाँ मसित बोल्नुभएको छ, र उहाँ आफैँले यो गर्नुभएको हो।
मेरो प्राणको चिन्ताको कारण
म आफ्नो जीवनभरि नम्र भई हिँड्नेछु।
16 हे प्रभु, यस्तै कुराहरूद्वारा मानिसहरू जिउँछन्;
र मेरो आत्माले पनि यिनमा जीवन पाउँछ।
तपाईंले मलाई फेरि स्वस्थ पारिदिनुभयो
र मलाई बचाउनुभयो।
17 निश्‍चय मेरै शान्तिको निम्ति
मैले यस्तो वेदना खप्नुपर्‍यो।
तपाईंले आफ्नो प्रेममा
मलाई सर्वनाशको खाडलबाट अलग राख्नुभयो;
किनकि तपाईंले मेरा सबै पापलाई
आफ्नो पिठिउँपछाडि फ्याँकिदिनुभयो।
18 किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन,
मृत्युले तपाईंको प्रशंसा गाउन सक्दैन;
खाडलमा पर्नेहरूले
तपाईंको विश्‍वासयोग्यताको आशा राख्न सक्दैनन्।
19 जिउँदाहरूले मात्र तपाईंको प्रशंसा गर्छन्,
जसरी आज म गरिरहेछु;
बुबाहरूले आफ्ना सन्तानलाई
तपाईंको विश्‍वासयोग्यताबारे बताउँछन्।
 
20 याहवेहले मलाई बचाउनुहुनेछ;
अनि हामी याहवेहको मन्दिरमा
आफ्ना जीवनकालभरि
तार-बाजाहरूसित गाउनेछौँ।
21 यशैयाले भनेका थिए, “नेभाराको लेप बनाएर पिलोमा लगाउनू र त्यो निको हुनेछ।”
22 हिजकियाले यसो भनी सोधेका थिए, “म याहवेहको मन्दिरमा जानेछु भन्‍ने के चिन्ह हुनेछ?”