39
बेबिलोनका राजदूतहरू
1 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एउटा उपहार पठाए; किनकि तिनले उनको बिमार र स्वास्थ्य-लाभको विषयमा सुनेका थिए। 2 हिजकियाले दूतहरूलाई हर्षसाथ स्वागत गरेर तिनीहरूलाई आफ्ना भण्डारमा भएका सबै चीजहरूः चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, आफ्ना सारा हतियारहरू राख्ने घर र भण्डारमा भएका प्रत्येक चीज देखाइदिए। हिजकियाले आफ्नो महलमा वा सम्पूर्ण राज्यमा तिनीहरूलाई नदेखाएको कुनै चीज थिएन।
3 तब अगमवक्ता यशैया राजा हिजकियाकहाँ गएर सोधे, “ती मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?”
हिजकियाले जवाफ दिए, “एउटा टाढा देश बेबिलोनबाट मकहाँ आएका हुन्।”
4 तब अगमवक्ताले सोधे, “तिनीहरूले तपाईंको महलमा के-के देखे?”
हिजकियाले भने, “तिनीहरूले मेरो महलमा भएको प्रत्येक कुरा देखे। मेरो भण्डारमा भएका सबै थोक मैले तिनीहरूलाई देखाएँ।”
5 तब यशैयाले हिजकियालाई भने, “सेनाहरूका याहवेहको वचन सुन्नुहोस्: 6 त्यो समय निश्चय आउनेछ, जब तेरो महलमा भएको प्रत्येक चीज र तेरा पितापुर्खाहरूले आजको दिनसम्म थुपारेका सबै कुराहरू बेबिलोनमा लगिनेछन्; केही पनि छोडिनेछैन, याहवेह भन्नुहुन्छ। 7 तेरा केही सन्तान, तेरा आफ्नै मासु र रगत, जो तँबाट जन्मनेछन्, ती लगिनेछन्। तिनीहरू बेबिलोनको राजाको महलमा नपुंसक हुनेछन्।”
8 हिजकियाले जवाफ दिए, “तपाईंले बोल्नुभएको याहवेहको वचन असल छ।” किनकि तिनले सोचे, “मेरो जीवनकालमा शान्ति र सुरक्षा भइरहनेछ।”