28
बुद्धिको खोज
1 पक्कै पनि चाँदीको निम्ति खानी हुन्छ,
र त्यो ठाउँ, जहाँ सुनलाई खारिन्छ।
2 फलाम पृथ्वीबाट निकालिन्छ,
र धातु गालेर तामा निकालिन्छ।
3 मरणशील मानिसले अन्धकारको अन्त्य गर्छ;
तिनीहरूले पृथ्वीको अति गहिराइमा
र घोर अन्धकारको ठाउँमा धातुको खोजी गर्छन्।
4 मानव वासस्थानदेखि टाढा,
मानिसहरूका खुट्टाले नटेकेका ठाउँहरूमा सुरुङ खन्छन्;
अरू मानिसहरूबाट टाढा डोरीमा झुण्डिन्छन् र हल्लिँदै धातु खनेर निकाल्छन्।
5 पृथ्वी, जहाँबाट भोजन निस्केर आउँछ,
त्यसभित्र भने आगोले पग्लिरहेको हुन्छ;
6 त्यसका चट्टानहरूबाट नीलमणिहरू निस्कन्छन्,
र त्यसका धुलोमा सुनका कणहरू हुन्छन्।
7 आकाशका शिकारी पक्षीहरूले त्यस गुप्त बाटोलाई जान्दैनन्,
कुनै पनि बाजको आँखाले त्यसलाई देखेको हुँदैन।
8 जङ्गली पशुहरूले त्यसमा पाइला टेकेका छैनन्,
र कुनै सिंहले त्यसमा शिकार गरेको छैन।
9 मानिसहरूले चकमके चट्टानलाई तिनीहरूका हातले फोर्छन्;
र पर्वतहरूलाई फेदैबाट पल्टाइदिन्छन्।
10 तिनीहरूले चट्टानभित्रबाट सुरुङ खन्दछन्;
तिनीहरूका आँखाले प्रत्येक बहुमूल्य चीजहरू देख्दछन्।
11 तिनीहरूले नदीहरूका मुहानहरू खोज्दछन्,
र गुप्तमा रहेका कुराहरू ज्योतिमा ल्याउँदछन्।
12 तर बुद्धिचाहिँ कहाँ फेला पार्न सकिन्छ?
समझशक्तिको बास कहाँ छ?
13 मरणशील मानिसले त्यसको मूल्य बुझ्दैन;
यसलाई जीवितहरूको देशमा पाउन सकिँदैन।
14 महासागरले भन्छ, “त्यो बुद्धि मभित्र छैन”;
समुद्रले भन्छ, “त्यो मसित छैन।”
15 त्यसलाई अति निखुर सुनले पनि किन्न सकिँदैन;
न त त्यसको मूल्य चाँदीमा तौलन सकिन्छ।
16 त्यसलाई ओपीरको सुनले समेत किन्न सकिँदैन,
बहुमूल्य रत्नहरू अथवा नीलमणि समेत पर्याप्त हुन्न।
17 त्यसको तुलना न सुन, न त स्फस्टिकसँग नै गर्न सकिन्छ;
न त त्यसलाई सुनको गहनाले किन्न सकिन्छ।
18 मुगा र बिल्लौरको त नाम नै नलिए पनि हुन्छ;
बुद्धिको मूल्य लालमणिभन्दा माथि हुन्छ।
19 कूश देशको पुष्पराजसँग पनि बुद्धिको तुलना हुन सकिँदैन;
बुद्धिलाई निखुर सुनले पनि किन्न सकिँदैन।
20 त्यसो भए बुद्धि कहाँबाट आउँछ,
र समझशक्तिको बास कहाँ छ?
21 त्यसलाई त प्रत्येक जीवित प्राणीहरूका आँखाहरूबाट गुप्तमा राखिएको छ,
अनि आकाशमा उड्ने पक्षीहरूबाट पनि त्यसलाई लुकाइएको छ।
22 विनाश*मूल भाषामा विनाशकर्ता र मृत्युले भन्छन्,
“हाम्रो आफ्नै कानमा केवल यसको हल्ला मात्र पुगेको छ।”
23 परमेश्वरले मात्र यसको बाटो बुझ्नुहुन्छ;
र त्यो कहाँ बास गर्छ, उहाँलाई मात्र थाहा छ,
24 किनकि उहाँले पृथ्वीको अन्तिम भागसम्म देख्नुहुन्छ;
र उहाँले आकाश मण्डलमुनिका हरेक कुराहरू निरीक्षण गर्नुहुन्छ।
25 जब उहाँले बतासको शक्तिलाई स्थापित गर्नुभयो
र बादलमा पानीको मापन गर्नुभयो;
26 जब उहाँले वर्षालाई आदेश दिनुभयो,
र चट्याङको लागि बाटो तयार पार्नुभयो;
27 तब उहाँले बुद्धिलाई हेर्नुभयो र त्यसको मूल्याङ्कन गर्नुभयो;
उहाँले त्यसलाई पक्का गर्नुभयो र जाँच्नुभयो।
28 अनि परमेश्वरले मानिस जातिलाई भन्नुभयो,
“हेर प्रभुको भय नै बुद्धि हो;
र दुष्टताबाट अलग रहनु नै समझशक्ति हो।”