29
इयोबको अन्तिम बहस
इयोबले आफ्नो बहस जारी राखेर भने:
“अहो, म मेरा बितेका महिनाहरूको कत्ति धेरै चाहना गर्दछु,
किनकि ती दिनहरूमा परमेश्‍वरले मेरो हेरचाह गर्नुहुन्थ्यो;
जब उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो,
र उहाँको ज्योतिद्वारा म अन्धकारमा हिँड्‍डुल गर्थेँ;
अहो, सुखका ती मेरा दिनहरू,
जब परमेश्‍वरसँगको घनिष्‍ठ मित्रताले मेरो घरमा आशिष् ल्याउँथ्यो;
जब सर्वशक्तिमान् मसँगै हुनुहुन्थ्यो,
र मेरा छोराछोरीहरू मेरा चारैतिर हुन्थे;
जब मेरा पाइलाहरू नौनीले भिजेका हुन्थे,
र चट्टानले मेरो निम्ति जैतुनको तेलका खोलाहरू बहाउँथ्यो।
 
“जब म सहरको मूलढोकामा जान्थेँ,
र सार्वजनिक चोकमा आफ्नो आसन ग्रहण गर्थेँ।
जवान मानिसहरू मलाई देखेर बाटो छोड्थे,
र वृद्ध मानिसहरू आदरसाथ बसेको ठाउँबाट उठ्थे;
सहरका प्रमुख मानिसहरू बोल्न छोड्थे,
र तिनीहरूले आफ्ना मुख हातले छोप्थे;
10 शासकहरूका आवाज मन्द हुन्थ्यो,
र तिनीहरूको जिब्रो तिनीहरूको तालुमा टाँसिन्थ्यो।
11 मलाई सुन्‍नेहरूले मेरो विषयमा राम्रो कुरा गर्थे,
र मलाई देख्नेहरूले मेरो गुणगान गर्थे;
12 किनकि सहायताको लागि गुहार्ने गरिब,
र सहायता गर्ने कोही नभएका अनाथहरूलाई म छुटाउथेँ।
13 मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो;
मैले विधवाको हृदयलाई आनन्दले गाउन सक्ने तुल्याउँथेँ।
14 मैले धार्मिकतालाई मेरो लुगाझैँ पहिरने गर्दथेँ;
न्याय मेरो लवेदा र मेरो फेटा थियो।
15 म अन्धाका निम्ति आँखा,
र लङ्गडाका निम्ति पाउहरूझैँ थिएँ।
16 खाँचोमा परेकाहरूका निम्ति म बुबा थिएँ;
म परदेशीहरूको पक्षमा मुद्दा लिन्थेँ।
17 मैले दुष्‍ट मनिसहरूका बङ्गारा तोडिदिएँ,
र तिनीहरूका दाँतहरूबाट पीडितहरूलाई खोसेँ।
 
18 “मैले सोच्ने गर्थेँ, ‘म मेरो आफ्नै घरमा मर्नेछु,
मेरा दिनहरू बालुवाका कणहरूझैँ धेरै छन्।
19 मेरा जराहरू पानीसम्म पुग्नेछन्;
र मेरा हाँगाहरूमा रातभरि नै शीत रहनेछ।
20 मेरो गौरव कहिल्यै घट्नेछैन;
मेरो धनु सदाकाल मेरो हातमा नयाँ भइरहनेछ।’
 
21 “मानिसहरू आशावादी भएर मेरो कुरा सुन्थे,
चुपचाप लागेर मेरो सल्‍लाह पर्खिरहन्थे।
22 मैले बोलिसकेपछि तिनीहरूले भन्‍ने कुरा रहँदैनथ्यो;
मेरा शब्दहरू तिनीहरूका कानमा बिस्तारै पर्दथ्यो।
23 तिनीहरूले झरीलाई झैँ मलाई पर्खन्थे;
र मेरा वचनहरूलाई बसन्तको झरीझैँ पिउँथे।
24 मैले तिनीहरूसँग मुस्कुराउँदा तिनीहरूलाई पत्यार लाग्दैनथ्यो;
मेरो अनुहारको उज्यालो तिनीहरूका निम्ति विशेष थिए।
25 तिनीहरूको निम्ति म मार्ग छनौट गरिदिन्थेँ, र तिनीहरूका प्रमुखझैँ भएर बस्थेँ;
राजा आफ्ना सेनाहरूसँग बसेझैँ म बस्थेँ;
शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसजस्तै म थिएँ।