भजन 86
सङ्कष्‍टमा दावीदको प्रार्थना।
हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्;
किनकि म असहाय र अभावग्रस्त छु।
मेरो रक्षा गरिदिनुहोस्; किनकि म तपाईंको भक्त हुँ;
तपाईंको सेवकलाई बचाउनुहोस्, जसले तपाईंमा भरोसा गर्दछ।
तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ; हे प्रभु, ममाथि दयालु हुनुहोस्;
किनकि म दिनभरि तपाईंलाई पुकार गर्दछु।
आफ्नो सेवकलाई हर्षित पार्नुहोस्;
किनकि प्रभु, म मेरो भरोसा तपाईंमा राख्दछु।
 
हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ;
तपाईंलाई पुकार्ने सबैलाई तपाईंको अचुक प्रेम प्रशस्त रहन्छ।
हे याहवेह, मेरो प्रार्थना सुनिदिनुहोस्;
दयाको निम्ति मेरो पुकारमा ध्यान दिनुहोस्!
जब म सङ्कष्‍टमा हुन्छु, म तपाईंलाई पुकार गर्नेछु;
किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ।
 
हे प्रभु! तपाईंजस्तो अरू कोही ईश्‍वरहरू छैनन्;
तपाईंका कार्यहरू अरू कुनै ईश्‍वरसँग तुलना गर्न सकिँदैन।
हे प्रभु, तपाईंले बनाउनुभएका सबै राष्ट्रहरू
तपाईंको सामु आएर दण्डवत् गर्नेछन्;
तिनीहरूले तपाईंको नामको महिमा गर्नेछन्।
10 किनकि तपाईं महान् हुनुहुन्छ, र अचम्मका कामहरू गर्नुहुन्छ;
तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ।
 
11 हे याहवेह, मलाई तपाईंको मार्ग सिकाउनुहोस्;
ताकि म तपाईंको विश्‍वासयोग्यतामा भर पर्न सकूँ;
मलाई एकाग्र मन दिनुहोस्,
र म तपाईंको नामको भय मान्‍न सकूँ।
12 हे प्रभु, मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु;
म सदासर्वदा तपाईंको नामको महिमा गर्नेछु।
13 किनकि मप्रति तपाईंको अचुक प्रेम महान् छ;
तपाईंले मेरो जीवनलाई
पातालको गहिराइबाट छुटाउनुभएको छ।
 
14 हे परमेश्‍वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेका छन्;
निर्दयी मानिसहरूका समूहले मलाई मार्न खोजिरहेका छन्—
ती मानिसहरू, जसले तपाईंलाई आदर गर्दैनन्।
15 तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्‍वर हुनुहुन्छ;
रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ।
16 मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्;
आफ्नो शक्ति तपाईंको सेवकलाई दिनुहोस्,
र आफ्नी सेविकाको छोरालाई बचाउनुहोस्!
किनकि म तपाईंको सेवा गर्दछु।
17 तपाईंका भलाइको चिन्ह मलाई दिनुहोस्;
र मलाई घृणा गर्नेहरू, त्यो देखेर शर्ममा परून्;
किनकि हे याहवेह, तपाईंले मलाई सहायता गर्नुभएको छ र सान्त्वना दिनुभएको छ।