भजन 88
एउटा गीत, कोरहका छोराहरूको भजन, सङ्गीत निर्देशकको निम्ति—महलत लिन्नोत लयमा आधारित, एज्रीका हेमानको मस्किल।*शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द।
1 हे याहवेह, तपाईं नै त्यो परमेश्वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ;
दिनरात म तपाईंलाई पुकार्दछु।
2 मेरो प्रार्थना तपाईंको सामु पुगोस्;
मेरो क्रन्दनतिर आफ्नो कान लगाउनुहोस्!
3 किनकि मेरो प्राण पीडाले भरिएको छ
र मेरो जीवन चिहानको नजिकै पुगेको छ।
4 चिहानमा जानेहरूसँगै मेरो गणना भएको छ;
म शक्तिविहीन मानिसझैँ भएको छु।
5 म मरेकाहरूसितै छुट्ट्याइएको छु,
मारिएका मानिसजस्तै, जो चिहानमा नै रहन्छन्,
जसलाई तपाईं कहिल्यै सम्झनुहुन्न;
जो तपाईंको वास्ताबाट त्यागिएका छन्।
6 तपाईंले मलाई चिहानको तल्लो भागमा,
अति अन्धकारमय गहिराइहरूमा फ्याँकिदिनुभएको छ।
7 तपाईंको क्रोधले मलाई दबाएर राखेको छ;
तपाईंका सबै छालहरूले मलाई व्याकुल पार्नुभएको छ।
सेला
8 मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ;
तपाईंले मलाई तिनीहरूको लागि घृणित तुल्याउनुभएको छ।
म पासोमा परेको छु, र म उम्कन सक्दिनँ;
9 शोकले मेरा आँखाहरू धमिला हुन्छन्।
हे याहवेह, म सारा दिन तपाईंलाई पुकार गर्दछु;
म मेरा हात तपाईंतिर पसार्दछु।
10 के मृतकहरूलाई तपाईं आफ्ना अद्भुत कार्यहरू देखाउनुहुन्छ?
के मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र?
सेला
11 के तपाईंको अचुक प्रेम चिहानमा,
तपाईंको विश्वसताको मृत-लोकमा†मूल भाषामा अबाडोन घोषणा गरिन्छ?
12 के तपाईंको अद्भुत कार्यहरू अन्धकारको स्थानमा,
अथवा तपाईंको धार्मिकताका कामहरू स्मरण नहुने देशमा चिनिन्छन् र?
13 हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु;
बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ।
14 हे याहवेह, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ?
अनि आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ?
15 मेरो युवावस्थादेखि नै म सताइएको छु, र मर्न लागेको छु;
तपाईंको त्रासबाट म पीडित छु, र म निराश भएको छु।
16 तपाईंको क्रोध ममाथि खनिएको छ;
तपाईंका त्रासहरूले मलाई नष्ट पारेका छन्।
17 तिनीहरूले मलाई दिनभरि नै बाढीले झैँ घेर्छन्;
तिनीहरूले मलाई पूर्ण रूपमा घेरेका छन्।
18 तपाईंले मबाट मेरा मित्र र मेरा छिमेकीहरू हटाउनुभएको छ—
अन्धकार मेरो नजिकको मित्र बनेको छ।