12
यस्‍तो भयो, जब रहबामको राज्‍य स्थापित भयो र तिनी शक्तिशाली भए, तब तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे— र तिनीसँगै जम्मै इस्राएलले पनि त्यागे । रहबाम राजाको शासनकालको पाँचौं वर्षमा मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए, किनभने मानिसहरू परमप्रभुप्रति अविश्‍वासी भएका थिए। तिनी बाह्र सय रथ र साठी हजार घोडचढी लिएर आए । तिनीसँग मिश्रदेशबाट आएका असंख्‍य फौज हरूः लिबियाली, सुक्‍किया र कूशीहरू आए । तिनले यहूदाका किल्‍लाबन्‍दी गरिएका सहरहरू जिते र यरूशलेममा आइपुगे । शीशकको कारणले यरूशलेममा भेला भएका रहबाम र यहूदाका अगुवाहरू भएको ठाउँमा शमयाह अगमवक्ता आए । शमायाहले तिनीहरूलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले मलाई त्‍यागेका छौ, यसैले मैले पनि तिमीहरूलाई शीशकको हातमा सुम्‍पिदिएको छु’ ।” तब इस्राएलका शासकहरू र राजाले आफूलाई विनम्र बनाए र भने, “परमप्रभु धर्मी हुनुहुन्‍छ ।” जब तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् भनी जब परमप्रभुले देख्‍नुभयो, तब परमप्रभुको वचन शमायाहकहाँ यसो भनेर आयो, “तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् । म तिनीहरूलाई विनाश गर्नेछैनँ । म तिनीहरूलाई केही हदसम्म उद्धार गर्नेछु, र शीशकको हातद्वारा यरूशलेममा म आफ्‍नो क्रोध खन्‍याउनेछैनँ । तापनि तिनीहरू त्‍यसका सेवकहरू हुनेछन्‌ ताकि मेरो सेवा गर्नु र अरू देशका शासकहरूका सेवा गर्नमा के भिन्‍नता रहेछ सो तिनीहरूले थाहा पाउनेछन्‌ ।” यसैले मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए र परमप्रभुको मन्‍दिर कोषहरू र राजाको महलका भण्‍डारका धन-सम्पत्ति लुटेर लगे । तिनले हरेक कुरा लगे । सोलोमनले बनाएका सुनका ढालहरू पनि तिनले लगे । 10 रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको ढोकाहरूका रक्षा गर्ने रक्षकहरूका कमाण्‍डरहरूका जिम्‍मामा दिए । 11 जब राजा परमप्रभुको मन्‍दिरभित्र पस्‍थे, तब रक्षकहरू ती बोक्थे । अनि तिनीहरूले रक्षक बस्‍ने कोठामा फेरि ती फर्काउँथे । 12 जब रहबामले आफूलाई विनम्र तुल्‍याए, तब तिनलाइ पुरै नष्‍ट नगर्नलाई परमप्रभुको क्रोध तिनीबाट हट्यो । यसका अतिरिक्त, यहूदामा केही असल कुरा अझै बाँकी थियो । 13 यसरी रहबाम राजाले यरूशलेममा आफ्नो राजकाज बलियो बनाए, र यसरी तिनले राज्य गरे । रहबामले राज्य गर्न सुरु गर्दा तिनी एकचालीस वर्षका थिए, र परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्‍नो नाउँ राख्‍नका निम्‍ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अम्‍मोनी स्‍त्री नामा थियो । 14 तिनले जे खराब थियो त्‍यही गरे, किनभने तिनले आफ्नो हृदय परमप्रभुको खोजी गर्न लगाएनन् । 15 रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्‍तकहरूमा समेत लेखिएका छैनन्‌ र, जसमा वंशक्रमहरू र रहबाम र यारोबामका बीचमा निरन्‍तर भएको युद्धका अभिलेख पनि राखिएको छन्? 16 रहबाम आफ्‍ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।