13
राजा यरोबामको अठारौँ वर्षमा, अबियाले यहूदामा राज्य गर्न सुरु गरे । तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे । तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्‌ । अबिया र यारोबामका बीचमा युद्ध भयो । अबिया चार लाख छानिएका बलिया र वीर योद्धाहरू लिएर युद्ध गर्न गए । यारोबामले छानिएका बलिया र वीर आठ लाख योद्धाहरू लडाँइको निम्ति तैनाथ गरे । अबिया एफ्राइमको पहाडी देशमा भएको समारैम डाँडामा खडा भए र यसो भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन! परमप्रभु इस्राएलका परमेश्‍वरले औपचारिक करारद्वारा सधैँको निम्‍ति दाऊद र तिनका सन्‍तानलाई इस्राएलमाथि शासन गर्न दिनुभएको कुरा के तिमीहरूलाई थाहा छैन? तापनि दाऊदका छोरा सोलोमनका सेवक नबातका छोरा यारोबाम उठ्‍यो र आफ्‍ना मालिकको विरुद्धमा बागी भयो । केही बेकम्‍मा बदमाशहरू त्‍यसको साथमा भेला भए । तिनीहरू सोलोमनका छोरा रहबामको विरुद्धमा आए, जति बेला रहबाम कलिलै र अनुभव नभएको र तिनीहरूको सामना गर्न नसक्‍ने अवस्थामा थिए । यसैले तिमीहरूसँग एउटा ठूलो फौज भएको हुनाले र तिमीहरूसँग देवताहरू हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग भएको हुनाले, अब तिमीहरू दाऊदका सन्‍तानहरूका हातमा भएको परमप्रभुका राज्‍यको विरुद्धमा खडा हुने योजना गर्दछौ । तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू र लेवीहरूलाई लखेट्‍ने र अरू देशका मानिसहरूले गरेझैं आफ्‍नै पुजारीहरूलाई नियुक्त गरेनौ र? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्यो जो देवताहरू नै होइनन्, त्यसको पुजारी बन्छ । 10 तर हाम्रा बारेमा त, परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामीले उहाँलाई त्‍यागेका छैनौं । हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्तानहरू पुजारीको रूपमा छन्, र आफ्नो काम गर्ने लेवीहरू छन् । 11 तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्‍ति होमबलि र सुगन्‍धित धूप चढ़ाउँछन्‌ । पवित्र टेबलमा उपस्‍थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन् । तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन्‌ । हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ । 12 हेर, परमेश्‍वर हाम्रा शिरमा हामीसँग हुनुहुन्छ, र उहाँका पुजारीहरू तिमीहरूका विरुद्धमा खतराको संकेत दिनलाई तुरही लिएर यहाँ छन् । हे इस्राएलका मानिसहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा युद्ध नगर, किनकि तिमीहरू सफल हुनेछैनौ ।” 13 तर यारोबामले आफ्‍नो फौजको एक दल पछिल्‍तिर गएर ढुकिबस्‍नलाई पठाएका थिए, र तिनको फौज चाहिं यहूदा, र तिनीहरूको पछाडि ढुकेर बसेका फौज थिए । 14 जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्‍नो अगाडि र पछाडि दुवैतिर भएको देखे । तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पुजारीहरूले आफ्‍ना तुरहीहरू फुके । 15 त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए । जब तिनीहरूले ठुलो सोरले कराए, तब परमेश्‍वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्‍ने प्रहार गर्नुभयो । 16 इस्राएलका मानिसहरू यहूदाका सामुन्‍नेबाट भागे, र परमेश्‍वरले तिनीहरूलाई यहूदाको हातमा सुम्‍पिदिनुभयो । 17 अबिया र तिनका फौजले ठुलो सङ्‍ख्‍यामा तिनीहरूको हत्या गरे । इस्राएलका पाँच लाख चुनिएका मानिसहरू मरेर ढले । 18 यसरी इस्राएलका मानिसहरूलाई त्‍यस बेला पराजित गरियो । यहूदाका मानिसहरूले जिते, किनभने तिनीहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा गरे । 19 अबियाले यारोबामलाई खेदे । तिनले उनीबाट बेथेल र त्‍यसका बस्‍ती, येशना र त्‍यसका बस्‍ती, अनि एप्रोन र त्‍यसका बस्‍तीसमेत कब्‍जा गरे । 20 अबियाको शासनको समयमा यारोबामले फेरि आफ्‍नो शक्ति कदापि प्राप्‍त गर्न सकेनन्‌ । परमप्रभुले उनलाई प्रहार गर्नुभयो, र उनी मरे । 21 तर अबियाले शक्तिशाली भए । तिनले आफ्नो निम्ति चौध जना पत्‍नी ल्‍याए, र बाइस जना छोरा र सोह्र जना छोरीका पिता भए । 22 अबिया बाँकी कामहरू र तिनका व्यवहार र वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्‌ ।