12
तेरा कठिन दिनहरू आउनुअगि र “मलाई तिनमा रमाहट छैन” भन्‍ने तेरा वर्षहरू आउनुअगि तेरो युवावस्थामा नै तेरो सृष्‍टिकर्ताको सम्झना गर् । सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर् । त्यो यस्तो समय हुने छ, जुन बेला दरबारका पहरेदारहरू काम्‍ने छन्, र बलिया मानिसहरू झुक्छन्, र जाँतो पिँध्‍ने स्‍त्रीहरूको सङ्ख्या कम भएकाले तिनीहरू लोप हुने छन्, र झ्यालबाट हेर्नेहरूले फेरि प्रस्टसित देख्‍ने छैनन् । त्यो यस्तो समय हुने छ, जुन बेला सडकहरूमा ढोकाहरू बन्द गरिन्छन्, र जाँतो पिँध्‍नेहरू आवाज बन्द हुने छ, र चराचुरुङ्गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्छन् । त्यो यस्तो समय हुने छ, जुन बेला मानिसहरू उचाइ र गल्लीका खतराहरूदेखि डराउँछन्, र जब बदामको फुल फक्रन्छ र जब फटेङ्ग्रो पेटको बलले घस्रँदै हिँड्छ र प्राकृतिक इच्छा असफल हुन्छ, तब मानिस आफ्नो अनन्त घरमा जान्छ, र शोक गर्नेहरू गल्लीहरूमा जान्छन् । चाँदीको तार चुँडिनुअगि वा सुनको कचौरा कुच्‍च्याइनुअगि वा मूलमा माटोको भाँडो टुक्रा-टुक्रा हुनुअगि वा कुवामा पाङ्ग्रो भाँचिनअगि तेरो सृष्‍टिकर्ताको सम्झना राख् । जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्‍वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् । उपदेशक भन्छन्, “व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।” उपदेशक बुद्धिमान् थिए, र तिनले मानिसहरूलाई ज्ञानका कुराहरू सिकाए । तिनले अध्ययन गरे, र मनन गरे अनि धेरै हितोपदेशहरू ठिक क्रममा मिलाएर राखे । 10 उपदेशकले सत्यताका प्रस्ट र सिधा वचनहरूको प्रयोग गरी लेख्‍ने कोसिस गरे । 11 बुद्धिमान् मानिसका वचनहरू गोठालोको लट्ठीझैँ हुन्छन् । गुरुहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो किसिमले ठोकेका किल्लाहरूझैँ हुन्छन्, जुन एउटै गोठालाबाट सिकाइएका हुन् । 12 हे मेरो छोरो, थप केही कुराबारे सावधान बस्: धेरै पुस्तकहरू लेख्‍ने कामको अन्त्य हुँदैन, र धेरै अध्ययनले शरीरमा थकान ल्याउँछ । 13 हरेक कुरा सुनिएपछि कुराको अन्त्य यही हो, कि तैँले परमेश्‍वरको भय मान्‍नुपर्छ, र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो । 14 किनकि हामीले गरेको हरेक गुप्‍त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्‍वरले इन्साफ गर्नुहुने छ ।