श्रेष्‍ठगीतको पुस्तक
1
यो सोलोमनको श्रेष्‍ठगीत हो । प्रेमिका आफैसित बोल्दै: उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून् । प्रेमिका प्रेमीसित बोल्दै: किनकि तपाईंको प्रेम दाखमद्यभन्दा उत्तम छ । तपाईंको अभिषेकको तेलमा आनन्दप्रद बास्‍ना छ । तपाईंको नाउँ बगिरहने अत्तरझैँ छ । त्यसैले युवतीहरूले तपाईंलाई प्रेम गर्छन् । मलाई तपाईंसितै लैजानुहोस्, र हामी दौडने छौँ । प्रेमिका आफैसित बोल्दै: राजाले मलाई उहाँका कोठाहरूमा ल्याउनुभएको छ । प्रेमिका प्रमीसित बोल्दै: हामी खुसी छौँ । हामी तपाईंको विषयमा आनन्द मनाउँछौँ । तपाईंको प्रेमको उत्सव मनाऔँ । यो दाखमद्यभन्दा उत्तम छ । अरू स्‍त्रीहरूले तपाईंलाई सम्मान गर्ने स्वाभाविक नै हो । प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु । म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु । म काली भएकीले र घामले मलाई डढाएकोले मलाई एकटक लगाएर नहेर । मेरी आमाका छोराहरू मसित रिसाउँथे । तिनीहरूले मलाई दाखबारीको रक्षक बनाए, तर मैले मेरो आफ्नै दाखबारीको रक्षा गरेकी छैनँ । प्रेमिका प्रेमीसित बोल्दैः हे मेरा प्रेमी, मेरो प्राणले तपाईंलाई प्रेम गर्छ । मलाई बताउनुहोस् । तपाईंले आफ्नो भेडा-बाख्राको बगाल कहाँ चराउनुहुन्छ ? दिउँसो तपाईंले आफ्नो बगाल कहाँ विश्राम गराउनुहुन्छ ? तपाईंका मित्रहरूका बगालहरूको छेउमा म किन भौँतारिहिँड्ने व्यक्तिझैँ हुने ? प्रेमी प्रेमिकासित बोल्दैः हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिमीलाई थाहा छैन भने मेरो बगालका पाइलाहरू पछ्याऊ, र गोठालाहरूको पालनेर तिम्रा ससाना बाख्राहरू चराऊ । हे मेरी प्रिय, म तिमीलाई फारोको रथको राम्रो घोडासित तुलना गर्दछु । 10 शृङ्गारले तिम्रा गाला सुन्दर भएका छन्; गर्गहनाले तिम्रो गला सजिएको छ । 11 हामी तिम्रो लागि चाँदीको जलप लगाइएका सुनका गहनाहरू बनाउने छौँ । प्रेमिका आफैसित बोल्दैः 12 राजा आफ्नो बिस्तारमा पल्टनुहुँदा मेरो अत्तरले आफ्नो बास्‍ना फिँजायो । 13 मलाई मेरा प्रेमी मूर्रको थैलीजस्तै लाग्छ जसले मेरा वक्षस्थलका बिचमा रात बिताउनुहुन्छ । 14 मलाई मेरा प्रेमी एन-गदीका दाखबारीहरूमा फुलेको मेहदीको झुप्पाजस्तै लाग्छ । प्रेमी प्रेमिकासित बोल्दैः 15 हे मेरी प्रिय, सुन । तिमी सुन्दरी छ्यौ । सुन, तिमी सुन्दरी छ्यौ । तिम्रा आँखा ढुकुरजस्ता छन् । प्रेमिका प्रेमीसित बोल्दैः 16 हे मेरा प्रेमी, सुन्‍नुहोस् । तपाईं सुन्दर हुनुहुन्छ । हो, तपाईं कति सुन्दर हुनुहुन्छ! हराभरा बिरुवाहरू हाम्रो ओछ्यान हुन् । 17 हाम्रो घरका दलिनहरू देवदारूका छन् । छाना सल्लाका छन् ।