2
प्रेमिका प्रेमीसित बोल्दैः म शारोनको घाँसे मैदानमा उम्रने फुल र बेँसीको लिली हुँ । प्रेमिका प्रेमीसित बोल्दैः काँढाहरूका बिचमा फुलेको लिली फुलझैँ मेरी प्रिय युवतीहरूका बिचमा छिन् । प्रेमिका आफैसित बोल्दैः जङ्गलका रुखहरूमध्ये स्याउको रुखझैँ मेरा प्रेमी युवाहरूका बिचमा हुनुहुन्छ । म उहाँको छायामुनि बडो आनन्दसित पल्टन्छु, र उहाँको फलको स्वाद मलाई मिठो लाग्छ । उहाँले मलाई दाखमद्य-गृहमा ल्याउनुभयो, र ममाथि भएको उहाँको झन्डा प्रेम थियो । प्रेमिका प्रेमीसित बोल्दैः मलाई किसमिसको परिकारले सजीव तुल्याउनुहोस्, र स्याउले ताजा बनाउनुहोस्, किनकि म प्रेमले कमजोर भएकी छु । प्रेमिका आफैसित बोल्दैः उहाँको देब्रे हात मुरो शिरमूनि छ, र दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः मेरा प्रेमीको सोर सुनिएको छ । सुन, पहाडहरूमा हामफाल्दै र डाँडाहरू छिचोल्दै उहाँ यहाँ आउनुहुन्छ । मेरा प्रेमी हरिण वा जवान मृगजस्तै हुनुहुन्छ । हेर, उहाँ हाम्रो पर्खालको पछाडिपट्टि उभिरहनुभएको छ । उहाँले झ्यालभित्र नियालेर हेर्दै हुनुहुन्छ र आँखी-झ्यालभित्र चियाएर हेर्दै हुनुहुन्छ । 10 मेरा प्रेमी मसित बोल्नुभयो र उहाँले मलाई भन्‍नुभयो, “हे मेरी प्रिय, उठ । हे मेरी सुन्दरी, मसित आऊ । 11 हेर, हिउँद बितिसकेको छ; वर्षा पनि सकिएर गयो । 12 पृथ्वीमा फुलहरू देखा परेका छन् । छिँवल्ने र चराचुरुङ्गीहरूले गीत गाउने समय आएको छ, अनि हाम्रो देशमा ढुकुरहरूको सोर सुनिएको छ । 13 अञ्‍जीरका बोटमा अञ्‍जीरका हरिया दाना लागिसकेका छन् र दाखहरूको मुजुरा लागेका छन् । तिनीहरूले आफ्ना बास्‍ना फिँजाउँछन् । हे मेरी प्रिय, मेरी सुन्दरी, उठेर आऊ । 14 पहराका धाँदाहरू, भिरालो पहाडका गुप्‍त चिराहरूमा बस्‍ने मेरी ढुकुर्नी, मलाई तिम्रो मुहार हेर्न देऊ । मलाई तिम्रो सोर सुन्‍न देऊ, किनकि तिम्रो सोर सुरिलो छ, र तिम्रो मुहार मायालु छ ।” प्रेमिका प्रेमीसित बोल्दैः 15 हाम्रा लागि फ्याउराहरू समात्‍नुहोस्, ससाना फ्याउराहरू जसले दाखबारि नष्‍ट पार्छन्, किनकि हाम्रो दाखबारीमा मुजुरा लागेको छ । 16 मेरा प्रेमी मेरै हुनुहुन्छ, र म उहाँकी हुँ । उहाँ प्रसन्‍न हुँदै लिली फुलहरूका बिचमा घुमेर हिँड्नुहुन्छ । प्रेमिका प्रेमीसित बोल्दैः 17 हे मेरा प्रेमी, प्रभातको मन्द हावा चल्नुअगि र छाया भाग्‍नुअगि नै जानुहोस्, गइहाल्नुहोस् । भिराला पहाडहरूमा हरिण वा जवान मृगझैँ हुनुहोस् ।