45
त्यसपछि आफूनेर उभिएका सबै दासहरूका सामुन्‍ने योसेफले आफूलाई नियन्त्रण गर्न सकेनन् । तिनले उच्‍च सोरमा भने, “हरेक व्यक्ति यहाँबाट जाऊ ।” त्यसैले योसेफले आफैलाई आफ्ना दाजुहरूकहाँ चिनाउँदा योसेफको नजिकै कोही उभिएको थिएन । तिनी यति ठुलो सोर निकालेर रोए कि मिश्रीहरूले मात्र नभई फारोको परिवारले पनि सुने । योसेफले आफ्ना दाजुहरूलाई भने, “म योसेफ हुँ । के मेरा पिता अझै जीवितै हुनुहुन्छ?” तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन् किनकि तिनीहरू तिनको उपस्थितिमा स्तब्ध भएका थिए । त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने, “बिन्ती छ, मेरो नजिक आओ ।” तिनीहरू नजिक आए । तिनले भने, “म तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ । तिमीहरूले मलाई बेचेकोमा अपसोस नमान वा आफैमाथि रिस नगर किनकि जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो । यी दुई वर्ष यो देशमा अनिकाल परिसकेको छ, र अझै पाँच वर्ष न हलो जोतिनेछ न कटनी गरिनेछ । पृथ्वीमा एउटा बाँकी भागको रूपमा राखी ठुलो छुटकाराद्वारा तिमीहरूको जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो । त्यसैले तिमीहरूले नभई परमेश्‍वरले नै मलाई यहाँ पठाउनुभएको हो, र उहाँले मलाई फारोका पिता, तिनका सबै घरानाका मालिक र सारा मिश्र देशका शासक तुल्याउनुभएको छ । हतार-हतार मेरा पिताकहाँ गएर उहाँलाई यसो भन, “तपाईंका छोरा योसेफ यसो भन्छन्, 'परमेश्‍वरले मलाई सारा मिश्रको मालिक बनाउनुभएको छ । मकहाँ आउन विलम्ब नगर्नुहोस् । 10 तपाईं गोशेन प्रदेशमा बस्‍नुहुनेछ, र तपाईं, तपाईंका छोराछोरीहरू, तपाईंका नातिनातिनाहरू, तपाईंका बगालहरू, तपाईंका बथानहरू र तपाईंसित भएका सबै मेरो नजिकै हुनुहुनेछ । 11 म त्यहाँ तपाईंको बन्दोवस्त गर्नेछु किनकि अनिकालका पाँच वर्ष अझै बाँकी छन्, नत्रता तपाईं, तपाईंको घराना र तपाईंसित भएका सबै दरिद्रतामा जानेछन्' ।” 12 तिमीहरूसित बोल्ने म योसेफ नै हुँ भनी तिमीहरूका आँखाले देखेका छौ र मेरा भाइ बेन्यामीनले पनि देखेका छन् । 13 मैले मिश्रमा हासिल गरेको इज्‍जत र मैले प्राप्‍त गरेका सबै थोकको विषयमा तिमीहरूले मेरा पितालाई बताउनू । हतारसँग गएर मेरा पितालाई ल्याओ ।” 14 तिनी आफ्ना भाइ बेन्यामीनसित अँगालो हालेर रोए, अनि बेन्यामीन पनि अँगालो हालेर रोए । 15 तिनले आफ्ना सबै दाजुहरूलाई चुम्बन गरे र तिनीहरूसँगै रोए । त्यसपछि तिनका दाजुहरूले तिनीसित कुराकानी गरे । 16 “योसेफका दाजुहरू आएका छन्” भन्‍ने खबर फारोको घरमा पुग्यो । यसले फारो र तिनका कामदारहरूलाई निकै खुसी पार्‍यो । 17 फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ । 18 तिमीहरूका पिता र घरानाहरूलाई लिएर मकहाँ आओ । म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु, र तिमीहरूले यस देशका स्वादिष्‍ट मासु खानेछौ । 19 अब तिमीहरूलाई आज्ञा दिइएको छ । तिमीहरूलाई यसो भन्‍ने आज्ञा पनि दिइएको छ, 'तिमीहरूका छोराछोरी र तिमीहरूका पत्‍नीहरूका लागि मिश्र देशका गाडाहरू लिएर जाओ । तिमीहरूका पितालाई लिएर आओ । 20 तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्' ।” 21 इस्राएलका छोराहरूले त्यसै गरे । फारोको आज्ञामुताबिक योसेफले तिनीहरूलाई गाडाहरूसाथै यात्राका लागि मालसामानहरू दिए । 22 तिनले तिनीहरू सबैलाई नयाँ लुगाहरू पनि दिए, तर बेन्यामीनलाई भने तिनले तिन सय चाँदीका टुक्रा र पाँच जोर लुगा दिए । 23 आफ्ना पिताका लागि तिनले यी थोकहरू पठाएः मिश्रका असल-अलस थोकहरू लादिएका दसवटा गधा; अनाज, रोटी र आफ्ना पिताको यात्राका लागि आवश्यक खाद्यपदार्थहरूले लादिएका दसवटा गधैनी । 24 तिनले आफ्ना दाजुहरूलाई पठाए र तिनीहरू त्यहाँबाट प्रस्थान गरे । तिनले तिनीहरूलाई भने, “तिमीहरू बाटोमा झगडा नगर ।” 25 तिनीहरू मिश्रबाट यात्रा गरी कनान देशमा आफ्ना पिताकहाँ आए । 26 तिनीहरूले तिनलाई भने, “योसेफ अझै जीवितै छन्, र तिनी सारा मिश्र देशभरिको शासक भएका छन् ।” योसेफको बारेमा तिनीहरूले भनेका कुरा विश्‍वास गर्न नसकेर तिनी बेहोस भए । 27 योसेफले तिनीहरूलाई भनेका सबै कुरा तिनले याकूबलाई बताइदिए । याकूबले आफूलाई लैजान योसेफले पठाएका गाडाहरू देखेपछि तिनीहरूका पिता याकूबको होस फर्क्यो । 28 इस्राएलले भने, “अब पुग्यो । मेरो छोरो योसेफ अझै जीवित छ । म मर्नुअगि गएर त्यसलाई हेर्नेछु ।”