46
इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँडे र बेर्शेबा गए । त्यहाँ तिनले आफ्‍ना बुबा इसहाकका परमेश्‍वरको निम्‍ति बलिदान चढाए । राती दर्शनमा परमेश्‍वर इस्राएलसँग यसो भन्दै बोल्‍नुभयो “याकूब, याकूब ।” तिनले भने, “म यहीँ छु ।” उहाँले भन्‍नुभयो, “म परमेश्‍वर हुँ, तेरा बुबाका परमेश्‍वर । मिश्रमा जान नडरा, किनकि त्‍यहाँ म तँबाट एउटा ठुलो जाति बनाउनेछु । म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्‍चय नै फेरि फर्काइ ल्‍याउनेछु, अनि योसेफकै हातले तेरा आँखा छोपिदिनेछ ।” त्‍यसपछि याकूब बेर्शेबाबाट हिँडे । इस्राएलका छोराहरूले आफ्‍ना बुबा याकूब, आफ्‍ना बालबच्‍चा र आफ्‍ना परिवारहरूलाई फारोले तिनलाई ल्‍याउन पठाएका गाडाहरूमा चढाएर लगे । तिनीहरूले आफ्‍ना गाईबस्‍तु र कनान देशमा जम्‍मा गरेका मालसामानहरूसँगै लगे । याकूब र तिनका जम्‍मै सन्तान मिश्रमा गए । याकूबले आफ्‍ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्‍तानलाई आफूसँगै मिश्रमा लगे । मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात्‌ याकूब र तिनका सन्‍तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन । रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी; 10 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्‍नीतर्फका छोरा शौल; 11 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी । 12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए । 13 इस्‍साखारका छोराहरू तोला, पुवा, याशूब र शिम्रोन थिए । 14 जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए । 15 यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्‍माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्‌ । लेआबाट याकूबका छोराछोरी जम्‍मा तेत्तिस जना थिए । 16 गादका छोराहरू सेफोन, हाग्‍यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली थिए । 17 आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ । बरीआका छोराहरू हेबेर र मल्‍कीएल थिए । 18 लाबानले आफ्‍नी छोरी लेआलाई दिएकी कमारी जिल्‍पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्‍मा सोह्र जना छोरा जन्माइन् । 19 याकूबकी पत्‍नी राहेलका छोराहरू योसेफ र बेन्‍यामीन थिए । 20 ओनका पुजारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्‍मेका योसेफका छोराहरू मनश्‍शे र एफ्राइम थिए । 21 बेन्‍यामीनका छोराहरू बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द थिए । 22 राहेलबाट जन्‍मेका याकूबका छोराहरू यी नै थिए । यिनीहरू जम्‍मा चौध जना थिए । 23 दानका छोरा हुशीम थिए । 24 नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर, र शिल्‍लेम थिए । 25 लाबानले आफ्‍नी छोरी राहेललाई दिएको कमारी बिल्‍हाले याकूबबाट जन्‍माएका सात जना छोरा यी नै थिए । 26 याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्‍ना सन्‍तान जम्‍मा छयसट्ठी जना थिए । 27 मिश्रमा जन्‍मेका योसेफका दुई जना छोरासमेत गरेर मिश्रमा जाने याकूबका परिवारका सदस्यहरू जम्‍मा सत्तरी जना थिए । 28 गोशेनमा तिनलाई भेट्‌न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्‍नो अगि पठाए । 29 योसेफले आफ्‍नो रथ तयार गर्न लगाए र गोशेनसम्‍म आफ्‍ना बुबा इस्राएललाई भेट गर्न आए । योसेफले आफ्ना बुबालाई देखे, र बुबालाई अँगालो हालेर धेरै बेरसम्‍म रोए । 30 इस्राएलले योसेफलाई भने, “अब मलाई मर्न देओ, किनकि मैले तेरो मुख देखेँ र तँ जीवितै रहेछस् ।” 31 योसेफले आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्‌ । 32 उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन्‌ । उनीहरूले आफ्‍ना सबै बगाल, बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌ ।’ 33 जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्‍दा के हो?’ भनी सोध्‍छन्, 34 तब तपाईंहरूले यसो भन्‍नुपर्छ, ‘हजुरका दासहरू हामी बाबु-छोराहरू हाम्रा युवावस्थादेखि अहिलेसम्‍म गाईबस्‍तु पाल्‍दै आएका छौँ ।’ तपाईंहरूले यसो गर्नुभयो भने तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने हरेक गोठालोचाहिँ मिश्रीहरूको लागि घृणाको पात्र हो ।”