47
तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका बगाल र बथानहरू र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन्‌ । हेर्नुहोस्, अहिले उनीहरू गोशेन प्रदेशमा छन्‌ ।” तिनले आफ्‍ना दाजुहरूमध्‍येबाट पाँच जनालाई लिएर फारोलाई चिनाइदिए । फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्‍धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजुरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौँ ।” त्यसपछि उनीहरूले फारोलाई भने, “हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ । कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूका बगालहरूको निम्ति चरन छैन । त्यसैले अब बिन्‍ती छ, हामी हजूरका दासहरूलाई गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति दिनुहोस् ।” त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्‌ । मिश्रदेश तिम्रै अगि छ । देशको सबैभन्‍दा असल ठाउँ गोशेन प्रदेशमा नै तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्‍ने बन्दोबस्त गर । उनीहरूमध्‍ये सक्षम मानिसहरूलाई गाईबस्‍तुहरूको जिम्मा देऊ ।” तब योसेफले आफ्‍ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए । फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?” याकूबले फारोलाई भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तिस वर्ष भयो । मेरो यस जीवनका वर्षहरू थोरै र दु:खमय भएका छन् । मेरो उमेर मेरा पिता-पुर्खाहरूको जति पुगेकै छैन ।” 10 त्यसपछि याकूबले फारोलाई आशीर्वाद दिए, र तिनको उपस्‍थितिबाट निस्‍केर गए । 11 तब योसेफले आफ्‍ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए । फारोको हुकुमअनुसार तिनले मिश्रमा भएको सबैभन्‍दा असल ठाउँ, अर्थात्‌ रामसेस भन्‍ने इलाकाको एउटा क्षेत्र उनीहरूलाई दिए । 12 योसेफले आफ्‍ना बुबा, दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए । 13 घोर अनिकालको कारण पुरै देशमा कुनै खानेकुरा थिएन । अनिकालद्वारा मिश्र र कनान दुवै देश कमजोर भए । 14 मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्‍नबाट प्राप्‍त सबै रुपियाँ योसेफले जम्‍मा गरे । त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए । 15 जब मिश्र र कनानमा भएका सबै आफ्‍ना रुपियाँ-पैसा खर्च भयो, सबै मिश्रीहरू यसो भन्दै योसेफकहाँ आए, “हामीलाई अन्‍न दिनुहोस्‌ । हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्‍ने हामी किन मरौँ?” 16 योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्‍तु ल्‍याओ र तिमीहरूका गाईबस्‍तुका सट्टामा म तिमीहरूलाई अन्‍न दिनेछु ।” 17 यसकारण तिनीहरूले आफ्‍ना गाईबस्‍तुहरू योसेफकहाँ ल्‍याए । योसेफले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्‍तु, गधाका सट्टामा तिनीहरूलाई खानेकुरा दिए । त्‍यस साल गाईबस्‍तुका सट्टामा तिनीहरूलाई तिनले अन्‍न खुवाए । 18 त्‍यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ कि हाम्रा रुपियाँ-पैसा सबै सकिए र गाईबस्‍तुका बथान पनि सबै मालिककै भएका छन् । अब हजुरको आँखाको सामुन्‍ने हामीसँग हाम्रै जिउ र जग्‍गाजमिनबाहेक अरू केही छैन । 19 हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्‍ने किन नष्‍ट हुने? अन्‍नको साटोमा हामी र हाम्रो जमिनलाई किन्‍नुहोस्, र हामी आफ्‍ना जग्‍गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ । हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्‍गाजमिन पनि उजाड नहोऊन् ।” 20 यसरी योसेफले मिश्रका सबै जग्‍गाजमिन फारोको निम्‍ति किने । अनिकाल धेरै भएको हुनाले हरेक मिश्रीले आफ्‍ना जग्‍गाजमिन बेच्यो । यसरी जग्‍गाजमिन फारोको भयो । 21 मिश्रको एक छेउदेखि अर्को छेउसम्‍मका सबै मानिसहरूलाई तिनले कमारा बनाए । 22 पुजारीहरूका जग्‍गाजमिन मात्र तिनले किनेनन्, किनभने पुजारीहरूलाई फारोबाट भत्ता दिइएको थियो । फारोले दिएकै हिस्‍साबाट तिनीहरूले खान्‍थे । त्‍यसकारण तिनीहरूले चाहिँ आफ्‍ना जग्‍गाजमिन बेचेनन् । 23 योसेफले जनताहरूलाई भने, “हेर, आज मैले फारोको निम्‍ति तिमीहरूका जग्‍गाजमिन र तिमीहरूलाई पनि किनेको छु । अब तिमीहरूका निम्‍ति बिउ यहाँ छ, र तिमीहरूले जमिनमा बिउ छर । 24 तर फसलको बेलामा उब्‍जनीको पाँचौँ हिस्‍सा तिमीहरूले फारोलाई दिनुपर्छ । चार हिस्‍साचाहिँ खेतीलाई बिउको निम्‍ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्‍चाको खानाको निम्‍ति तिमीहरूको आफ्‍नै हुनेछ ।” 25 तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ । हजुरको निगाह हामीमाथि रहोस्‌ । हामी फारोका कमारा हुनेछौँ ।” 26 यसैले मिश्र देशमा योसेफले उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ भन्‍ने कुरा समेटिएको जग्‍गाजमिनको विषयमा एउटा ऐन बनाए, जुन आजसम्‍म प्रचलित छ । पुजारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन । 27 त्यसैले इस्राएल मिश्रको गोशेनमा बसोबास गरे । तिनका मानिसहरूले त्‍यहाँका जग्‍गाजमिन आफ्‍नो अधिकारमा लिए । तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो । 28 याकूब मिश्रमा सत्र वर्ष बसे । यसरी याकूबको जम्‍मा उमेर एक सय सतचालिस वर्ष भयो । 29 जब इस्राएलको मर्ने बेला आयो, तिनले आफ्‍ना छोरा योसेफलाई बोलाएर भने, “यदि मैले तेरो निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति तेरो विश्‍वासयोग्यता र भरोसा देखा । कृपा गरेर मलाई मिश्रदेशमा नगाड्‌ । 30 म मेरा पिता-पुर्खाहरूसँग सुत्दा मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदे ।” योसेफले भने, “तपाईंले भन्‍नुभएबमोजिम म गर्नेछु ।” 31 इस्राएलले भने, “मसँग शपथ खा ।” अनि योसेफले शपथ खाए । तब इस्राएल आफ्‍नो पलङ्गको सिरानमा घोप्‍टो परे ।