नहेम्याहको पुस्तक
1
हकल्याहका छोरा नहेम्याहका वचनहरूः बिसौँ वर्षको किसलेव महिनामा म शूशनको किल्लामा छँदा, मेरा दाजुहरूमध्येका एक जना अर्थात् हनानी यहूदाबाट केही मानिसहरूसँगै आए, र मैले त्यहाँ बाँकी रहेका यहूदीहरू र यरूशलेमको विषयमा सोधपुछ गरेँ । तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।” मैले यी वचन सुन्‍ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ । तब मैले भनेँ, “तपाईं स्वर्गका परमेश्‍वर परमप्रभु हुनुहुन्छ, जो महान् र भययोग्य हुनुहुन्छ । तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्‍नेहरूप्रति करार पुरा गर्नुहुन्छ र तपाईंको अचुक प्रेम देखाउनुहुन्छ । अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिनप्रतिदिन गर्ने मेरो प्रार्थना सुन्‍नुहोस्, र तपाईंका आँखा खोल्नुहोस् । तपाईंको विरुद्धमा हामी सबै इस्राएलीले गरेका पाप म स्वीकार गर्दै छु । म र मेरा पिताको घराना दुवैले पाप गरेका छन् । हामीले तपाईंको विरुद्धमा दुष्‍ट काम गरेका छौँ, र तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, विधिविधानहरु र नियमहरू पालन गरेका छैनौँ । कृपा गरी आफ्ना दास मोशालाई तपाईंले आज्ञा दिनुभएको वचन स्मरण गर्नुहोस्, 'तिमीहरू अविश्‍वासयोग्य भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिने छु, तर तिमीहरू मकहाँ फर्केर मेरा आज्ञाहरूलाई पछ्याई पालन गर्‍यौ भने तिमीहरूका मानिसहरू आकाशका कुना-कुनासम्म तितर-बितर भए तापनि म तिनीहरूलाई त्यहाँबाट जम्मा गर्ने छु, र मेरो नाउँ राख्‍न मैले चुनेको ठाउँमा तिनीहरूलाई फर्काएर ल्याउने छु ।' 10 तिनीहरू तपाईंका दासहरू हुन्, र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र शक्तिशाली हातले छुटकारा दिनुभएको छ । 11 हे परमप्रभु, म बिन्ती गर्छु, कि तपाईंको नाउँको आदर गर्ने तपाईंका दास र तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस् । आज तपाईंको दासलाई सफलता दिनुहोस्, र यस मानिसको दृष्‍टिमा उसलाई कृपा देखाउनुहोस् ।” म राजाको मद्य टक्र्याउने व्यक्तिको रूपमा काम गर्थें ।