2
राजा अर्तासास्तको बिसौँ वर्षको नीसान महिनामा उहाँले दाखमद्य रोज्नुभयो, र मैले दाखमद्य लिई राजालाई टक्र्याएँ । म उहाँको उपस्थितिमा पहिले कहिल्यै यस्तो उदास भएको थिइनँ । त्यसैले राजाले मलाई सोध्‍नुभयो, “तिम्रो अनुसार किन यति उदास छ ? तिमी बिरामीजस्तो त देखिँदैनौँ । यो ह्रदयको उदासी हुनुपर्छ ।” तब म सार्‍है डराएँ । मैले राजालाई भनेँ, “राजा सदासर्वदै अमर रहून्! मेरो अनुसार किन उदास नहुने त ? मेरा पिता-पुर्खाहरूका चिहान भएको सहर भग्‍नावशेषमा परिणत भएको छ, र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारेका छन् ।” तब राजाले मलाई भन्‍नुभयो, “मैले के गरेको तिमी चाहन्छौ ?” त्यसैले मैले स्वर्गका परमेश्‍वरलाई प्रार्थना चढाएँ । मैले राजालाई जवाफ दिएँ, “राजालाई असल लाग्यो भने, र हजुरका दासले हजुरको दृष्‍टिमा राम्रै गरेको छ भने हजुरले मलाई मेरा पिता-पुर्खाहरूका चिहान भए सहर यहूदा पठाउन सक्‍नुहुन्छ ताकि मैले यसको पुनर्निर्माण गर्न सकूँ ।” राजाले मलाई जवाफ दिनुभयो (रानी पनि उहाँकै छेउमा बसिरहनुभएको थियो), “तिमी कहिलेसम्म टाढिन्छौ र तिमी कहिले फर्कने छौ ?” मैले राजालाई मिति दिँदा राजा मलाई पठाउन खुसी हुनुभयो । तब मैले राजालाई भनेँ, “राजालाई खुसी लागे यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूका लागि मलाई चिट्ठीहरू पठाइऊन् ताकि म यहूदा जाँदा तिनीहरूले मलाई तिनीहरूका इलाकाहरू भएर जान अनुमति देऊन् । राजाको जङ्गलको जिम्मावाल आसापको लागि पनि एउटा चिट्ठी होस्, ताकि मन्दिरसित गाँसिएको किल्लाका मूल ढोकाहरू, सहरको पर्खाल र म बस्‍ने घरका लागि सत्तरीहरू बनाउन तिनले मलाई मुढाहरू जुटाइदेऊन् ।” परमेश्‍वरको असल हात ममाथि भएकोले राजाले मेरो अनुरोध स्वीकार गर्नुभयो । म यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूकहाँ आइपुगेँ, र तिनीहरूलाई राजाका चिट्ठीहरू दिएँ । राजाले मसँगै सेनाका अधिकृतहरू र घोडचढीहरू पठाएका थिए । 10 कसैले इस्राएलीहरूलाई मदत गर्न खोज्दै छ भनी जब होरोनी सन्बलत र अम्मोनी अधिकारी तोबियाले यो सुने, तिनीहरू निकै बेखुसी भए । 11 यसरी म यरूशलेम आइपुगेँ, र त्यहाँ दिन रहेँ । 12 म र केही मानिसहरू रातमा उठ्यौँ । यरूशलेमको निम्ति परमेश्‍वरले मेरो ह्रदयमा हालिदिनुभएको बोझबारे मैले कसैलाई बताइनँ । म चढिरहेको पशुबाहेक त्यहाँ अरू कुनै पशु थिएन । 13 म राति बेँसी ढोका भएर बाहिर निस्केँ, अनि यरूशलेमका पर्खालहरू भत्केका र मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका रा स्यालको पोखरीतिर गएँ । 14 त्यसपछि म फुहारा ढोका र राजाको तलाउमा गएँ । त्यो ठाउँ यति सानो थियो कि म चढिरहको पशु जानलाई ठाउँ नै पुगेन । 15 त्यसैले त्यस रात म उपत्यका भएर गएँ, र पर्खालको निरीक्षण गरेँ, अनि म फर्केर बेँसी ढोकाबाट भित्र प्रवेश गरेँ । यसरी म फर्किएँ । 16 म कहाँ गएँ र मैले के गरेँ भन्‍ने बारेमा शासकहरूलाई थाहै भएन, र यति बेलासम्म मैले यहूदीहरूलाई पनि भनेको थिइनँ, न पुजारीहरू, न प्रतिष्‍ठित मानिसहरू, न शासकहरू, न त काम गर्ने बाँकी मानिसहरूलाई भनेको थिएँ । 17 मैले तिनीहरूलाई भनेँ, “हामी कस्तो सङ्कष्‍टमा छौँ, यरूशलेम कसरी भग्‍नावशेषमा परिणत भएको छ र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएको छ भनी तिमीहरूले देखेका छौ । आओ, हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ ।” 18 मेरा परमेश्‍वरको असल हात ममाथि र राजाले मलाई भन्‍नुभएका वचनहरूमाथि थियो भनी मैले तिनीहरूलाई बताएँ । तिनीहरूले भने, “उठौँ, र निर्माण गरौँ ।” त्यसैले असल कामको लागि तिनीहरूले आ-आफ्ना हात मजबुत पारे । 19 तर जब होरोनी सन्बलत, अम्मोनी अधिकारी तोबिया र अरबी गेशेमले यो कुरा सुने तिनीहरूले हामीलाई खिसी गरे र गिल्ला गरेर भने, “तिमीहरू के गर्दै छौ ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ ?” 20 तब मैले तिनीहरूलाई जवाफ दिएँ, “स्वर्गका परमेश्‍वरल हामीलाई सफलता दिनुहुने छ । हामी उहाँका दासहरू हौँ, अनि हामी उठ्ने छौँ र निर्माणको काम गर्ने छौँ । तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन ।”