118
 1 परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।   2 इस्राएलले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।”   3 हारूनको घरानाले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।”   4 बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।”   5 मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्वतन्त्र गर्नुभयो ।   6 परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र?   7 परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्टिले हे्र्नेछु ।   8 मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।   9 कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।   10 सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।   11 तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।   12 तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।   13 तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो ।   14 परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।   15 धर्मीहरूका पालहरूमा विजयको आनन्दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ ।   16 परमप्रभुको दाहिने बाहुली उच्च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ ।   17 म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।   18 परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।   19 मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु ।   20 यो परमप्रभुको ढोका हो । धर्मी यसबाट भित्र पस्छ ।   21 म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।   22 निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ ।   23 यो परमप्रभुको काम हो । यो हाम्रा दृष्टिमा अचम्मको कुरा हो ।   24 यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्दित हुनेछौं र खुसी हुनेछौं ।   25 हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस् !   26 परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्दिरबाट हामी आशीर्वाद दिनेछौं ।   27 परमप्रभु परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई ज्योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध ।   28 तपाईं मेरो परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्वर हुनुहुन्छ । म तपाईंलाई उच्च पार्नेछु ।   29 परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।