119
 अलेफ  1 तिनीहरू धन्य हुन् जसको मार्गहरू निर्दोष छन्, जो परमप्रभुको व्यवस्थामा हिंड्छन् ।   2 तिनीहरू धन्य हुन् जसले उहाँका गहन आज्ञाहरू पालन गर्छन्, जसले आफ्नो सारा हृदयले उहाँको खोजी गर्छन् ।   3 तिनीहरूले कुनै खराबी गर्दैनन् । तिनीहरू उहाँका मार्गहरूमा हिंड्छन् ।   4 तपाईंले हामीलाई तपाईंका शिक्षाहरू पालन गर्ने आज्ञा दिनुभएको छ, ताकि हामी तिनलाई होसियारीसाथ पालन गर्न सकौं ।   5 तपाईंका विधिहरू पालन गर्न म दृढ हुन सके कति असल हुन्थ्यो   6 तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा म लाजमा पर्नेथिइनँ ।   7 मैले तपाईंको धार्मिक आदेशहरू सिकेपछि सोझो हृदयले म तपाईंलाई धन्यवाद दिनेछु ।   8 म तपाईंको विधिहरू पालन गर्नेछु । मलाई बेवास्ता नगर्नुहोस् ।   
बेथ  9 जवान व्यक्तिले आफ्नो मार्ग कसरी शुद्ध राख्न सक्छ? तपाईंको वचन पालन गरेर सक्छ ।   10 आफ्नो सारा हृदयले म तपाईंलाई खोज्दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।   11 तपाईंको वचन मैले आफ्नो हृदयमा जम्मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।   12 हे परमप्रभु,तपाईं धन्यको हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।   13 तपाईंले प्रकट गर्नुभएका सबै धार्मिक आदेशहरूलाई मैले आफ्नो मुखले घोषणा गरेको छु ।   14 सारा धनसम्पत्तिमा भन्दा बढी म तपाईंको करारका आदेशहरूका मार्गमा आनन्दित हुन्छु ।   15 म तपाईंको सुझावहरूमा ध्यान गर्नेछु र तपाईंका मार्गहरूलाई वास्ता गर्नेछु ।   16 म तपाईंका विधिहरूमा खुसी हुन्छु । तपाईंको वचन म बिर्सनेछैन ।   
गिमेल  17 आफ्नो सेवकप्रति कृपालु हुनुहोस् ताकि म बाँच्न र तपाईंको वचन पालन गर्न सकूँ ।   18 मेरा आँखाहरू खोल्नुहोस् ताकि तपाईंको व्यवस्थाका अचम्मका कुराहरू म देख्न सकूँ ।   19 देशमा म विदेशी हुँ । तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस् ।   20 हर समय तपाईंका धार्मिक आदेशहरू जान्ने उत्कट चाहनाले गर्दा मेरा इच्छाहरू चूर्ण भएका छन् ।   21 तपाईंले घमण्डीलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट टाढा जान्छन् ।   22 अनादर र अपमानबाट मलाई बचाउनुहोस्, किनकि मैले तपाईंका करारका आदेशहरू पालन गरेको छु ।   23 शासकहरूले मेरो षड्यन्त्र र निन्दा गरे पनि, तपाईंको सेवकले तपाईंका विधिहरूमा ध्यान दिन्छ ।   24 तपाईंका करारका आदेशहरू मेरो आनन्द हुन् र तिनीहरू मेरा सल्लाहकारहरू हुन् ।   
दालेथ  25 मेरो जीवन धूलोमा टाँसिएको छ । तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस् ।   26 तपाईंलाई मैले आफ्ना मार्गहरू भनें र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।   27 तपाईंका सुझावहरूका मार्गहरू बुझ्ने मलाई बनाउनुहोस्, ताकि तपाईंका आचम्मका शिक्षाहरूमा म ध्यान गर्न सकूँ ।   28 शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् ।   29 छलको मार्ग मबाट हटाउनुहोस् । तपाईंको व्यवस्था अनुग्रहसाथ मलाई सिकाउनुहोस् ।   30 विश्वस्तताको मार्गलाई मैले चुनेको छु । तपाईंका धार्मिक आदेशहरूलाई सधैं मैले आफ्नो सामु राखेको छु ।   31 तपाईंका करारका आदेशहरूमा म टाँसिन्छु । हे परमप्रभु, मलाई लाजमा नपार्नुहोस् ।   32 तपाईंका आज्ञाहरूका मार्गमा म दौडिनेछु, किनकि त्यसो गर्न तपाईंले मेरो हृदयलाई ठुलो बनाउनुहुन्छ ।   
हे  33 हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु ।   34 मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्नो सारा हृदयले यो म पालन गर्नेछु ।   35 तपाईंका आज्ञाहरूका मर्गमा मलाई डोर्याउनुहोस्, किनकि त्यसमा हिंड्न म खुसी हुन्छु ।   36 मेरो हृदयलाई तपाईंका करारका आदेशहरूतिर, र अधार्मिक फाइदाबाट टाढा लैजानुहोस् ।   37 व्यर्थका कुराहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस् । तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस् ।   38 तपाईंको सेवकको निम्ति तपाईंका प्रतिज्ञा पुरा गर्नुहोस् जुन तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गर्नुभयो ।   39 मलाई डर लाग्ने अपमानहरू हटाइदिनुहोस्, किनकि तपाईंका धार्मिक फैसलाहरू असल हुन्छन् ।   40 हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् ।   
वाव  41 हे परमप्रभु, तपाईंको अचूक प्रेम, तपाईंको प्रतिज्ञाअनुसार तपाईंको उद्धार मलाई दिनुहोस् ।   42 तब मलाई गिल्ला गर्नेलाई म जवाफ दिनेछु, किनकि म तपाईंको वचनमा भरोसा गर्छु ।   43 मेरो मुखबाट सत्यको वचन नलानुहोस्, किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन् ।   44 तपाईंको वचन म सदासर्वदा निरन्तर पालन गर्नेछु ।   45 म सुरक्षित भएर हिंड्नेछु किनकि तपाईंका सुझावहरको खोजी म गर्छु ।   46 तपाईंका गहन आज्ञाहरू म राजाहरूको सामु भन्नेछु र म लाज मान्नेछैन ।   47 तपाईंका आज्ञाहरूमा म खुसी हुन्छ, जसलाई म अति प्रेम गर्छु ।   48 तपाईंका आज्ञाहरूतिर म आफ्ना हातहरू उचाल्नेछु, जसलाई म प्रेम गर्छु । तपाईंका विधिहरूमा म ध्यान गर्नेछु ।   
जाइन्  49 तपाईंको सेवकसित तपाईंले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस् किनभने तपाईंले मलाई आसा दिनुभएको छ ।   50 यो मेरो संकष्टमा मेरो सान्त्वना होः ताकि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको छ ।   51 घमण्डीहरूले मेरो खिसी गरेका छन्, तापनि म तपाईंको व्यवस्थाबाट तर्केर टाढा गएको छैन ।   52 हे परमप्रभु, प्राचीन कालदेखि नै मैले तपाईंका धार्मिक आदेशहरूका बारेमा विचार गरेको छु, र म आफैंलाई सान्त्वना दिन्छु ।   53 तपाईंको व्यवस्थालाई इन्कार गर्ने दुष्टहरूका कारणले प्रचण्ड क्रोधले मलाई समातेको छ ।   54 म अस्थयी रूपमा बसोबास गर्ने घरमा तपाईंका विधिहरू नै मेरा गीतहरू भएका छन् ।   55 हे परमप्रभु, म रातको समयमा तपाईंको नाउँको बारेमा विचार गर्छु र म तपाईंको व्यवस्था पालन गर्छु ।   56 यो मेरो प्रचलन भएको छ किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु ।   
हेथ  57 परमप्रभु मेरो भाग हुनुहुन्छ । तपाईंका वचन पालन गर्ने अठोट मैले गरेको छु ।   58 तपाईंको कृपाको निम्ति म दिलोज्यानले बिन्ती गर्छु । तपाईंको वचनले प्रतिज्ञा गरेअनुसार मप्रति कृपालु हुनुहोस् ।   59 मैले आफ्ना मार्गहरू जाँच गरें र मेरा खुट्टाहरूलाई तपाईंका आदेशहरूतिर फर्काएँ ।   60 तपाईंका आज्ञाहरू पालन गर्न म हतार गर्छु र ढिलो गर्दिनँ ।   61 दुष्टहरूका डोरीहरूले मलाई पासोमा परेका छन् । मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैन ।   62 तपाईंका धार्मिक आदेशहरूका कारणले तपाईंलाई धन्यवाद दिन म मध्यरातमा उठ्छु ।   63 तपाईंको आदर गर्ने सबै जना, तपाईंका सुझावहरू पालन गर्ने सबै जानको म एक जना मित्र हुँ ।   64 हे परमप्रभु, पृथ्वी तपाईंको करारको विश्वस्तताले भरिपूर्ण छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।   
टेथ  65 हे परमप्रभु, तपाईंको वचनको मध्यमले तपाईंले आफ्नो सेवकलाई असल गर्नुभएको छ ।   66 मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्वास गरेको छु ।   67 संकष्टमा पर्नअगि म बरालिएर गएको थिएँ, तर अहिले तपाईंको वचन म पालन गर्छु ।   68 तपाईं असल हुनुहुन्छ र असल गर्ने तपाईं नै हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।   69 अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु ।   70 तिनीहरूका हृदय कठोर भएका छन्, तर म तपाईंको व्यवस्थामा खुसी हुन्छु   71 मैले सतावट भोगेको मेरो निम्ति असल हुन्छ, ताकि म तपाईंका विधिहरू सिक्न सक्छु ।   72 तपाईंको मुखबाट निस्केको शिक्षाहरू मेरो निम्ति सुन र चाँदीका हजारौं टुक्राहरूभन्दा बढी मूल्यवान छन् ।   
योध  73 तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्न सकूँ ।   74 तपाईंलाई आदर गर्नेहरूले मलाई देखेर खुसी हुनेछन् किनभने तपाईंको वचनमा म आसा पाउँछु ।   75 हे परमप्रभु, तपाईंका आदेशहरू निष्पक्ष छन् र विश्वस्ततामा तपाईंले मलाई कष्ट दिनुभयो भनी म जान्दछु ।   76 आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्वस्तताले मलाई सान्त्वना देओस् ।   77 मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो ।   78 घमण्डीहरू लाजमा परून् किनकि तिनीहरूले मेरो निन्दा गरेका छन् । तर म तपाईंका सुझावहरूमा ध्यान गर्नेछु ।   79 तपाईंलाई आदर गर्नेहरू मतिर फर्कून्, जसले तपाईंका करारका आदेशहरू जान्दछन् ।   80 तपाईंका विधिहरूप्रति मेरो हृदय निर्दोष होस् ताकि म लाजमा नपरूँ ।   
काफ  81 तपाईंले मलाई बचाउने आसा गरेर म मूर्छित हुन्छु । तपाईंकै वचनमा म आसा गर्छु ।   82 तपाईंको प्रतिज्ञा हेर्नलाई मेरा आँखाले इच्छा गर्छन् । तपाईंले मलाई कहिले सान्त्वना दिनुहुनेछ ?   83 किनकि म धूवाँमा राखेको मशकजस्तो भएको छु । तपाईंका विधिहरू म बिर्सिन्न ।   84 तपाईंको सेवकले यो कहिलेसम्म यो कुरा सहनु पर्ने हो? मेरो खेदो गर्नेहरूलाई तपाईंले कहिले न्याय गर्नुहुनेछ?   85 तपाईंको व्यवस्थाला अशुद्ध पारेर घमण्डीहरूले मेरो निम्ति खाडल खनेका छन् ।   86 तपाईंका सबै आज्ञा विश्वासनीय छन् । ती मानिसहरूले मलाई गलत किसिमले सताउँछन् । मलाई सहायता गर्नुहोस् ।   87 तिनीहरूले पृथ्वीमा झण्डै मेरो अन्त्य गरेका छन्, तर तपाईंका सुझावहरूलाई म इन्कार गर्दिनँ ।   88 तपाईंको अटल प्रमले मलाई जीवित राख्नुहोस्, ताकि तपाईंका आज्ञाहरू म पालन गर्न सकूँ ।   
लामेध  89 हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन् ।   90 तपाईंको विश्वसनीयता सबै पुस्तामा रहन्छ । तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र यो रहन्छ ।   91 तपाईंले आफ्नो धार्मिक आदेशहरूमा भन्नुभएझैं आजको दिनसम्म सबै थोक निरन्तर रहन्छ, किनकि सबै थोकहरू तपाईंका सेवकहरू हुन् ।   92 तपाईंको व्यवस्था नै मेरो आनन्द भएको थिएन भने, म आफ्नो कष्टमा नाश भएको हुन्थें ।   93 तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्नुभएको छ ।   94 म तपाईंकै हुँ । मलाई बचाउनुहोस्, किनकि म तपाईंका सुझावहरूको खोजी गर्छु ।   95 दुष्टहरूले मलाई नाश पार्ने तयारी गर्छन्, तर म तपाईंका करारका आदेशहरू बुझ्न खोज्नेछु ।   96 सबै थोकका सिमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू भने सिमाभन्दा परसम्म फराकिला छन् ।   
मेम  97 ओहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्छु! यो नै मेरो दिनभरिको ध्यान हो ।   98 तपाईंका आज्ञाहरूले मलाई आफ्ना शत्रुहरूभन्दा बुद्धिमान् बनाउँछन्, किनकि तपाईंका आज्ञाहरू सधैं मसँग छन् ।   99 मेरा शिक्षकहरूभन्दा मसँग धेरै सुझबुझ छ, किनकि तपाईंको करारका आदेशहरूमा नै म ध्यान गर्छु ।   100 मभन्दा पाकाहरूभन्दा धेरै म बुझ्छु । मैले तपाईंका सुझावहरू पालन गरेको हुनाले नै यसो भएको हो ।   101 हरेक खराब मार्गबाट मैले आफ्ना खुट्टाहरूलाई पछि राखेको छु ताकि म तपाईंको वचन पालन गर्न सकूँ ।   102 तपाईंका धार्मिक आदेशहरूबाट फर्केको छैन, किनकि तपाईंले मलाई सिकाउनुभएको छ ।   103 तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्!   104 तपाईंका सुझावहरूद्वारा म विवेक पाउँछु, यसकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु ।   
नुन  105 तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो ।   106 मैले शपथ खाएको छु र पक्का गरेको छु, ताकि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु   107 म धेरै कष्टमा परेको छु । हे परमप्रभु, मलाई जीवित राख्नुहोस्, जस्तो तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ ।   108 हे परमप्रभु, मेरो मुखको स्वेच्छा बलि ग्रहण गर्नुहोस् र मलाई तपाईंका धार्मिक आदेशहरू सिकाउनुहोस् ।   109 मेरो जीवन सधैं मेरो हातमा छ, तापनि म तपाईंको व्यवस्था बिर्सिन्न ।   110 दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन ।   111 तपाईंका करारका आदेशहरूलाई सदासर्वदा म आफ्नो पैतृक अंशको रूपमा दाबी गर्छु, किनकि ति मेरो हृदयको आनन्द हुन् ।   112 सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ ।   
समेख  113 दोहोरो मन भएकाहरूलाई म घृणा गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।   114 तपाईं मेरो लुक्ने ठाउँ र ढाल हुनुहुन्छ । तपाईंको वचनमा म आसा गर्छु ।   115 हे दुष्ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्नो परमेश्वरका आज्ञाहरू पालन गर्न सकूँ ।   116 मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आसामा लज्जित हुनु नपरोस् ।   117 मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्यान गर्नेछु ।   118 तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि ती मानिसहरू छली र अविश्वासनीय छन् ।   119 तपाईंले दुष्टहरूलाई फोहोरझैं हटाउनुहुनेछ । यसकारण म तपाईंका गहन आज्ञाहरूलाई प्रेम गर्छु ।   120 तपाईंको भयले मेरो शरीर थरथर हुन्छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्छ ।   
ऐयिन  121 जे निष्पक्ष र ठिक छ सो म गर्छु । मेरा अत्यचारीहरूका हातमा मलाई नदिनुहोस् ।   122 तपाईंको सेवकको भलाइ गर्ने जिम्मा लिनुहोस् । घमण्डीहरूले मलाई थिचोमिचो नगरून् ।   123 तपाईंको उद्धारको निम्ति र तपाईंको धार्मिक वचनको निम्ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्छन् ।   124 तपाईंको सेवकलाई आफ्नो करारको विश्वस्तता देखाउनुहोस् र तपाईंका विधिहरू मलाई सिकाउनुहोस् ।   125 म तपाईंको सेवक हुँ । मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंको करारका आदेशहरू म जान्न सकूँ ।   126 यो परमप्रभुले काम गर्ने समय हो, किनकि मानिसहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् ।   127 साँच्चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु ।   128 यसकारण, तपाईंका सबै सुझावहरूलाई म सावधान भएर अनुसरण गर्छु र झुटका हरेक मार्गलाई म घृणा गर्छु ।   
पेका  129 तपाईंका नियमहरू अचम्मका छन् । त्यसैले म तिनलाई पालन गर्छु ।   130 तपाईंका वचनहरूको व्याख्याले ज्योति दिन्छ । यसले तालिम नभएकाहरूलाई सुझबुझ दिन्छ ।   131 म आफ्नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु ।   132 तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईंले सधैं गर्नुभएझैं मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस् ।   133 तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्य गर्न नदिनुहोस् ।   134 मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ ।   135 तपाईंको सेवकमाथि तपाईंको मुहार चम्काउनुहोस् र मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।   136 मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् ।   
साधे  137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्पक्ष छन् ।   138 तपाईंले आफ्नो करारका आदेशहरू धार्मिक रूपमा र विश्वस्ततासाथ दिनुभएको छ ।   139 रिसले मलाई नष्ट पारेको छ किनभने मेरा वैरीहरूले तपाईंका वचनहरू बिर्सिन्छन् ।   140 तपाईंका वचनलाई धेरै जाँचिएका छ र तपाईंको सेवकले यसलाई प्रेम गर्छ ।   141 म तुच्छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्न ।   142 तपाईंको न्याय सदासर्वदा ठिक हुन्छ र तपाईंको व्यवस्था भरपर्दो छ ।   143 संकष्ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन् ।   144 तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ ।   
कोफ  145 मैले आफ्नो सम्पूर्ण हृदयले पुकारा गरें, “हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु ।   146 म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु ।”   147 बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आसा गर्छु ।   148 रातका पहरहरू बद्लिनुअगि नै मेरा आँखाहरू खुला हुन्छन् ताकि म तपाईंको वचनमा ध्यान गर्न सकूँ ।   149 तपाईंको करारको विश्वस्ततामा मेरो सोर सुन्नुहोस् । हे परमप्रभु, मलाई जीवित राख्नुहोस्, जस्तो तपाईंले आफ्नो धार्मिक आदेशहरूमा प्रतिज्ञा गर्नुभएको छ ।   150 मेरो सतावट गर्नेहरू मेरो नजिक आइरहेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन् ।   151 हे परमप्रभु, तपाईं नजिक हुनुहुन्छ र तपाईंका सबै आज्ञा भरपर्दा छन् ।   152 धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकें जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्थापित गर्नुभएको थियो ।   
रेश  153 मेरो कष्टलाई हेर्नुहोस् र मलाई सहायता गर्नुहोस्, किन म तपाईंको व्यवस्था बिर्सिन्न ।   154 मेरो पक्षमा बोल्नुहोस् र मलाई उद्धार गर्नुहोस् । तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गरेअनुसार मलाई सुरक्षित राख्नुहोस् ।   155 उद्धारचाहिं दुष्टहरूदेखि धेरै टाढा हुन्छ, किनकि तिनीहरूले तपाईंका विधिहरू मन पराउँदैनन् ।   156 हे परमप्रभु, तपाईंका कृपापूर्ण कामहरू महान् छन् । तपाईंले सधैं गर्नुभएझैं मलाई जीवित राख्नुहोस् ।   157 मलाई सताउनेहरू र मेरा वैरीहरू धेरै जान छन्, तापनि म तपाईंका करारका देशहरूबाट तर्केको छैन ।   158 धोकेबाजलाई म घृणाको दृष्टिले हेर्छु किनभने तिनीहरूले तपाईंका वचन पालन गर्दैनन् ।   159 हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्वस्तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्नुहोस् ।   160 तपाईंको वचनको सार सत्य छ । तपाईंका हरेक धार्मिक आदेशहरू सदासर्वदा रहन्छन् ।   
शीन  161 शासकहरूले मलाई विनाकारण सताउँछन्, तर मेरो हृदय तपाईंको वचनको भयमा स्थिर छ ।   162 कसैले धेरै लूटको माल पाएझैं म तपाईंको वचनमा आनन्दित हुन्छु ।   163 झुटलाई म घृणा र तिरस्कार गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।   164 तपाईंको धार्मिक आदेशहरूका कारणले दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु ।   165 तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूसँग महान् शान्ति हुन्छ । तिनीहरूलाई कुनै कुराले ठेस खान दिंदैन ।   166 हे परमप्रभु, म तपाईंको उद्धारको आसा गर्छु र तपाईंका आज्ञाहरू म पालन गर्छु ।   167 म तपाईंक गहन आज्ञाहरू पालन गर्छु र तिनलाई म अति प्रेम गर्छु ।   168 तपाईंका सुझावहरू र तपाईंका गहन आज्ञाहरू म पालन गर्छु, किनकि मैले गर्ने हरेक कुराको बारेमा तपाईंलाई जानकारी हुन्छ ।   
ताव  169 हे परमप्रभु, सहायताको निम्ति मेरो पुकारा सुन्नुहोस् । तपाईंको वचनमा मलाई सुझबुझ दिनुहोस् ।   170 मेरा बिन्तीहरू तपाईंकै सामु आऊन् । तपाईंले वचनमा तपाईंले प्रतिज्ञा गर्नुभएझैं मलाई सहायता गर्नुहोस् ।   171 मेरा ओठहरूले प्रशंसा गरोस् किनकि तपाईंले मलाई आफ्ना विधिहरू सिकाउनुहुन्छ ।   172 मेरो जिब्रोले तपाईंको वचनको बारेमा गीत गाओस्, किनकि तपाईंका सबै आज्ञा ठिक छन् ।   173 तपाईंको हातले मलाई सहायता गरोस्, किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु ।   174 हे परमप्रभु, म तपाईंको उद्धारको इच्छा हेर्छु र तपाईंको व्यवस्था नै मेरो आनन्द हो ।   175 म जिउन सकूँ र तपाईंको प्रशंसा गर्न सकूँ । अनि तपाईंका धार्मिक आदेशहरूले मलाई सहायता गरून् ।   176 हराएको भेडाझैं म बरालिएको छु । आफ्नो सेवकलाई खोज्नुहोस् । किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैन ।