31
परमप्रभुले मोशालाई भन्‍नुभयो, “मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरेका थिए, त्यसको निम्ति बद्ला ले । त्यो काम गरेपछि तँ मर्ने छस् र तेरा मानिसहरूसँग मिल्न जाने छस् ।” त्यसैले मोशाले मानिसहरूलाई भने, “तिमीहरूका केही मानिसहरूलाई सुसज्‍जित पार । तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र यसमाथि परमप्रभुको बद्ला लिऊन् । इस्राएलका हरेक कुलले युद्धको निम्ति एक हजार सिपाही पठाउनुपर्छ ।” त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्‍त्र मानिस दिइयो । त्यसपछि मोशाले तिनीहरूलाई पुजारी एलाजारका छोरा पीनहासको साथमा पवित्र स्थानका केही सरसामानहरू र सङ्केत दिनलाई तिनको स्वामित्वमा तुरहीहरूसहित हरेक कुलबाट एक-एक हजार जना मानिसलाई युद्ध गर्न पठाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले मिद्यनीहरूसँग लडे । तिनीहरूले सबै मानिसलाई मारे । तिनीहरूले बाँकी मृतकहरूसहित मिद्यानका पाँच जना राजा एवी, रेकेम, सूर, हूर र रेबालाई मारे । इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्‍चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए । 10 तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए, जहाँ उनीहरू बसेका थिए र उनीहरूका छाउनीहरू थिए । 11 तिनीहरूले मानिसहरू र पशुहरू दुवैलाई लुटको माल र कैदीको रूपमा लिए । 12 तिनीहरूले कैदीहरूलाई, लुटका मालहरू र कब्जा गरेका सामानहरू मोशा, पुजारी एलाजार र इस्राएलका मानिसहरूका समुदायकहाँ ल्याए । तिनीहरूले यिनीहरूलाई मोआबको मैदानमा यरीहो नजिक यर्दनको किनारमा ल्याए । 13 मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवा तिनीहरूलाई भेट्न छाउनी बाहिर गए । 14 तर मोशा लडाइँबाट आएका फौजका अधिकृतहरू, हजार जनाको सेनापति र सय जनाको कप्‍तानहरूसँग रिसाए । 15 मोशाले तिनीहरूलाई भने, “के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको ? 16 हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए । 17 अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार । 18 तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ । 19 तिमीहरू सात दिनसम्म इस्राएलको छाउनीबाहिर छाउनीमा बस्‍नुपर्छ । कसैलाई मारेका र मुर्दालाई छोएका तिमीहरू सबैले तिमीहरू र तिमीहरूका कैदीहरूसहित तेस्रो र सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ । 20 तिमीहरूले हरेक पोशाक र पशुका छाला, बाख्राको रौँ र काठले बनेका सबै मालसामानलाई शुद्ध पार्नुपर्छ ।” 21 पुजारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएको धर्म-विधि यही होः 22 सुन, चाँदी, काँसा, फलाम, टिन र सिसा, 23 र आगोले नजल्ने सबै थोकलाई तिमीहरूले आगोमा पोल्नुपर्छ र यो शुद्ध हुने छ । त्यसपछि तिमीहरूले यिनीहरूलाई शुद्ध पार्ने पानीले शुद्ध पार्नुपर्छ । जुन कुरालाई आगोमा जलाउन मिल्दैन, त्यसलाई तिमीहरूले पानीले शुद्ध पार्नुपर्छ । 24 तिमीहरूले सातौँ दिनमा तिमीहरूका लुगा धुनुपर्छ र तिमीहरू शुद्ध हुने छौ । त्यसपछि तिमीहरू इस्राएलको छाउनीभित्र आउन सक्छौ । 25 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, 26 “मानिस र पशुहरू दुवै लुटका मालहरूको रूपमा गन्ती गर् । तँ, पुजारी एलाजार र समुदायका कुल-कुलका अगुवाहरूले लुटका मालहरूलाई 27 दुई भाग गर्नुपर्छ । यसलाई लडाइँमा जाने सिपाहीहरू र सबै बाँकी समुदायबिच बाँड् । 28 त्यसपछि लडाइँमा गएका सिपाहीहरूबाट मेरो निम्ति कर लिनू । यो कर मानिस, गाईवस्तु, गधा, भेडा वा बाख्राहरू जे भए पनि हरेक पाँच सयमा एउटा हुनुपर्छ । 29 यो कर तिनीहरूका आधा अंशबाट लिनू र यसलाई मेरो निम्ति चढाउन पुजारी एलाजारलाई दिनू । 30 साथै, इस्राएलका मानिसहरूका आधा भागबाट, मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू । यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू ।” 31 त्यसैले मोशा र पुजारी एलाजारले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम गरे । 32 सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा, 33 सत्तरी हजार गोरु, 34 एकसट्ठी हजार गधा, 35 र पुरुषसँग कहिल्यै सहवास नगरेका तिस हजार महिला थिए । 36 सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, ००० थियो । भेडाहरूबाट 37 परमप्रभुको भाग ६७५ थियो । 38 गोरुहरू छत्तिस हजार थिए, जसबाट परमप्रभुको भागमा बहत्तरवटा थिए । 39 गधाहरू ३०,५०० थिए, जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए । 40 सोह्र हजार महिला थिए, जसबाट परमप्रभुको भाग बत्तिस जना थिए । 41 परमप्रभुलाई चढाउने बलि हुनुपर्ने कर मोशाले लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले यसलाई पुजारी एलाजारलाई दिए । 42 युद्धमा गएका सिपाहीहरूबाट मोशाले इस्राएलका मानिसहरूका आधा भागको सन्दर्भमा 43 समुदायको आधा भाग ३,३७,५०० भेडा, 44 तिस हजार गोरु, 45 ३०,५०० गधा, 46 र सोह्र हजार महिला थिए । 47 इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए । 48 फौजका अधिकृतहरू, हजारका सेनापतिहरू र पचास जनाका कप्‍तानहरू मोशाकहाँ आए । 49 तिनीहरूले तिनलाई भने, “तपाईंका दासहरूले हाम्रो स्वामित्वमा भएका सिपाहीहरूको गन्ती गरेका छन् र एक जना पनि हराएको छैन । 50 हामी हरेकले पाएका सुनका गहनाहरू, बाजू, बाला, छाप औँठी, कुण्डल र सिक्रीहरू परमप्रभुको सामु हाम्रो प्रायश्‍चित्त गर्नको निम्ति परमप्रभुको भेटी ल्याएका छौँ ।” 51 मोशा र पुजारी एलाजारले सुन र सबै कलात्मक सरसामान तिनीहरूबाट ग्रहण गरे । 52 तिनीहरूले परमप्रभुलाई दिएका, हजारका सेनापतिहरू र सय जनाका कप्‍तानहरूबाट आएका सुनका भेटीहरूको तौल एक सय नब्बे किलोग्राम थियो । 53 हरेक सिपाहीले आ-आफ्नो निम्ति लुटका माल लिएका थिए । 54 मोशा र पुजारी एलाजारले हजारका सेनापतिहरू र सयका कप्‍तानहरूबाट सुन लिए । तिनीहरूले यसलाई परमप्रभुको निम्ति इस्राएलका मानिसहरूको याद दिलाउने चिनोको रूपमा भेट हुने पालभित्र लगे ।