32
रूबेन र गादका सन्तानहरूका गाईवस्‍तुहरू धेरै थिए । जब तिनीहरूले याजेर र गिलादको भूमी देखे, त्यो भूमी गाईवस्‍तुहरूको निम्ति असाध्यै राम्रो थियो । त्यसैले गाद र रूबेनका सन्तानहरू आए अनि मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूसँग कुरा गरे । तिनीहरूले भने, “हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही होः आतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन । यी ठाउँहरूलाई परमप्रभुले इस्राएलका समुदायको सामु आक्रमण गर्नुभयो र तिनीहरू गाईवस्‍तुहरूका निम्ति राम्रा ठाउँहरू छन् । हामी तपाईंका दासहरूका गाईवस्‍तुहरू धेरै छन् ।” तिनीहरूले भने, “यदि हामीले तपाईंको नजरमा कृपा पाएका छौँ भने, यो भूमि तपाईंका दासहरू हामीलाई हाम्रो स्वामित्वमा दिइयोस् । हामीलाई यर्दन पारि नलैजानुहोस् ।” मोशाले गाद र रूबेनका सन्तानहरूलाई जवाफ दिए, “के तिमीहरू बसोवास गर्दा तिमीहरूका दाजुभाइहरूचाहिँ लडाइँमा जाने ? परमप्रभुले इस्राएलका मानिसहरूलाई दिनुभएको भूमिमा जानबाट तिनीहरूलाई किन निरुत्साहित पार्ने ? मैले कादेश-बर्नेबाट तिमीहरूका बुबाहरूलाई भूमिको जाँचबुझ गर्न पठाउँदा तिनीहरूले त्यही गरे । तिनीहरू एश्कोलको बेँसीमा गए । तिनीहरूले भूमिलाई देखे र इस्राएलका मानिसहरूका मनलाई निरुत्साहित बनाए, ताकि परमप्रभुले तिनीहरूलाई दिनुभएको भूमिमा प्रवेश गर्न तिनीहरूले इन्कार गरून् । 10 परमप्रभुको क्रोध दन्कियो । उहाँले शपथ खानुभयो र भन्‍नुभयो, 11 'मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेका भूमिलाई मिश्रबाट आएका बिस वर्षभन्दा माथिका कसैले देख्‍ने छैनन्, किनभने 12 यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूले बाहेक तिनीहरूले मलाई पूर्ण रूपमा अनुसरण गरेका छैनन् । कालेब र यहोशूले मात्र मलाई पूर्ण रूपमा अनुसरण गरेका छन् ।' 13 त्यसैले परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो । उहाँको नजरमा दुष्‍टता गर्ने सबै पुस्ता विनाश नभएसम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यताउता भौतारिन लगाउनुभयो । 14 हेर, तिमीहरू आफ्ना बुबाहरूको स्थानमा अझ धेरै पापी मानिसहरूझैँ इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध उराल्न खडा भएका छौ । 15 यदि तिमीहरू उहाँलाई पछ्याउनबाट तर्कियौ भने, उहाँले इस्राएललाई फेरि पनि मरुभूमिमा नै छोड्नुहुने छ र तिमीहरूले यी सबै मानिसलाई नष्‍ट पार्ने छौ । 16 त्यसैले तिनीहरू मोशाको नजिक आए र भने, “यहाँ हाम्रा गाईवस्‍तुहरूका निम्ति खोर र हाम्रा परिवारहरूका निम्ति सहर बनाउन अनुमति दिनुहोस् । 17 तथापि, हामी आफैचाहिँ तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छौँ । तर अझै यस भूमिमा रहेका अन्य मानिसहरूका कारण हाम्रा परिवारहरूचाहिँ किल्लाबन्दी गरिएका सहरहरूमा बस्‍ने छन् । 18 इस्राएलका हरेक मानिसले आ-आफ्नो उत्तराधिकर नपाएसम्म हामी हाम्रो घरतिर फर्कने छैनौँ । 19 हामीले तिनीहरूसँग यर्दन पारिपट्टि अंश पाउनेछै नौँ, किनभने हाम्रो अंश यहीँ यर्दनको पूर्वीपट्टि नै छ । 20 त्यसैले मोशाले तिनीहरूलाई जवाफ दिए, “यदि तिमीहरूले आफूले भनेबमोजिम गर्छौ, तिमीहरू हातहतियारसहित परमप्रभुको सामु युद्ध गर्न जान्छौ भने, 21 परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको सामुबाट नधपाउनुभएसम्म र 22 उहाँको सामु भूमिलाई कब्जा नगरेसम्म तिमीहरू सबै हातहतियारसहित परमप्रभुको सामु यर्दन पारि तर्नुपर्छ । त्यसपछि तिमीहरू फर्कन सक्छौ । तिमीहरू परमप्रभु र इस्राएलका सामु दोषरहित हुने छौ । यो भूमि परमप्रभुको सामु तिमीहरूको सम्पत्ति हुने छ । 23 तर यदि तिमीहरूले यसो गरेनौ भने, हेर, तिमीहरूले परमप्रभु विरुद्ध पाप गरेका हुने छौ । तिमीहरूका पापले अवश्य नै फेला पार्ने छ । 24 तिमीहरूका परिवारहरूका निम्ति सहरहरू र भेडाबाख्राहरूका निम्ति खोर बनाओ; तिमीहरूले जे भनेका छौ सो गर ।” 25 गाद र रूबेनका सन्तानहरूले मोशालाई भने, “तपाईंका दासहरूले हाम्रा मालिकले आज्ञा गरेअनुसार गर्ने छन् । 26 हाम्रा बालबच्‍चाहरू, हाम्रा पत्‍नीहरू, हाम्रा गाईवस्‍तुहरू र हाम्रा सबै भेडाबाख्रा गिलादका सहरहरूमा रहने छन् । 27 तथापि, हामी तपाईंका दासहरू हाम्रा मालिकले भन्‍नुभएबमोजिम नै लडाइँको निम्त हातहतियारसहित परमप्रभुको सामु पारि जाने छन् ।” 28 त्यसैले मोशाले तिनीहरूको बारेमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूका कुल-कुलका अगुवाहरूलाई निर्देशन दिए । 29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू । 30 तर यदि तिनीहरू तिमीहरूसँगै हातहतियारसहित पारि गएनन् भने, तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्‍त गर्ने छन् ।” 31 त्यसैले गाद र रूबेनका सन्तानहरूले जवाफ दिए, “परमप्रभुले हामी तपाईंका दासहरूलाई भन्‍नुभएबमोजिम हामीले यसै गर्ने छौँ । 32 हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ, तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहने छ ।” 33 त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए । 34 गादका सन्तानहरूले दीबोन, अतारोत, अरोएर, 35 अत्रोत-शोपान, याजेर, योगबहा, 36 बेथ-निम्रा, बेथ-हारान सहरहरूलाई पर्खालले घेरेर भेडाबाख्राहरूका निम्ति खोरहरू बनाए । 37 रूबेनका सन्तानहरूले हेश्बोन, एलाले, किर्यातैयम, 38 नेबो, बालमोन, यिनीहरूका नाउँ पछि फेरियो र शिब्मा बनाए । तिनीहरूले पुनर्निर्माण गरेका सहरहरू नाउँ अरू नै राखे । 39 मनश्शेका छोरा माकीरका सन्तानहरू गिलादमा गए र त्यहाँ बसोबास गर्ने एमोरीहरूबाट यसलाई कब्जा गरे । 40 त्यसपछि मोशाले मनश्शेका छोरा माकीरलाई गिलाद दिए, र तिनका मानिसहरू त्यहाँ बसोबास गरे । 41 मनश्शेका छोरा याईर गए र यसका नगरहरू कब्जा गरे र तिनीहरूको नाउँ हब्बात-याईर राखे । 42 नोबाह गए र केनात र यसका गाउँहरू कब्जा गरे अनि तिनले यसको नाउँ आफ्नै नाउँमा नोबह राखे ।